भैरहवा, अत्याधिक भारवहनका कारण सडक संरचना कमजोर हुँदै गएपछि रुपन्देही प्रशासनले भन्सार बिन्दुमै भारमिलान गर्न निर्देशन दिएको छ । अत्यधिक भारवहनका कारण राजमार्गका पुल भाँचिन र सडक भत्किन थालेपछि भन्सार बिन्दुमै भारमिलान गर्न व्यवसायीलाई निर्देशन दिइएको हो ।प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सरोकारवालासहितको बैठकले भारतबाट आउने मालबाहक सवारीसाधनले क्षमताभन्दा बढी तौल ल्याए नल्याएको एकीन गरेर मात्र गन्तव्यमा पठाउने गरी निर्णय गरेको छ ।
बैठकमा भएको निर्णयबारे जानकारी दिदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले क्षमताभन्दा बढी तौल लिएर आएका सवारीसाधनको भारमिलान गरेर मात्र गन्तव्यमा पठाउने सहमति भएको बताउनुभयो ।
बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय मालबाहक सवारीसाधनका कारण राजमार्ग भत्किनुका साथै केही महिनाको अन्तरालमा दुईवटा पुल भाँचिएपछि रुपन्देही प्रसाशनले ओभरलोड नियन्त्रणमा कडाइ गरेको प्रजिअ घिमिरेले उल्लेख गर्नुभयो । जिल्लास्थित सुरक्षा निकाय, यातायात व्यवसायी र सरोकारवालाहरुको उपस्थितिमा बैठक बसी निर्णय गरेर सम्बन्धित निकायमा कार्यान्वयनका लागि परिपत्र गरिएको प्रजिअ घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, ‘बिहीबारदेखि निर्णय कार्यान्वयन प्रक्रियामा कडाई गर्छौं ।’
निर्देशन कार्यान्वयन गर्न असहज; उद्योगी–व्यवसायी
भारतबाट ढुवानी लिएर नेपाल प्रवेश गर्ने सवारीसाधनलाई भन्सार कार्यालय परिसरमा नै भारमिलान गर्ने निर्देशन कार्यान्वयन गर्न सहज नरहेको उद्योग व्यवसायीहरुको भनाइ छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले गरेको निर्णय एकतर्फी र अव्यवहारिक भएका बताउनुभयो ।
नेपाल भन्सार एजेण्ट महासंघका पूर्व सचिव तथा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले के अब भन्सारमा राजस्व फारम भर्न पनि ढुवानी व्यवसायीलाई सोध्नपर्ने हो रु भन्दै प्रमुख जिल्ला अधिकारीलाई प्रतिप्रश्न गर्नुभयो ।
भैरहवा भन्सार एजेन्ट संघ, रुपन्देहीका अध्यक्ष मधुप्रसाद पन्थीले प्रमुख जिल्ला अधिकारीको निर्देशन अव्यवहारिक भएको बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्