हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो, प्रधानमन्त्रीले गरे बेलिब्रिजको उद्घाटन

हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो, प्रधानमन्त्रीले गरे बेलिब्रिजको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने बताएका छन् ।

उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापारिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गरिने बताए। प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल बनाइने बताए। उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा खुसी व्यक्त गरे।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँ निर्माणाधीन पक्कीपुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डोर्‍याउने प्रतिबद्धता व्यक्त गरे। अप्ठयारो ठाउँमा ढलान गरेर भए पनि सडक स्तरोन्नति गर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्न पनि क्वारेन्टाइन तत्काल स्थापना गर्नुपर्ने बताए। हुम्लालाई सडक सञ्जालसँग जोड्न नेपाली सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान गर्न सुरु गरेको थियो।

उक्त बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमा आज काठमाडौँबाट सुर्खेत हुँदै खार्पुनाथ पुगेका हुन्। ओलीलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा (एमाले) का उपमहासिचव प्रदीप ज्ञवाली, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत हुम्ला पुगेका थिए।

कर्णाली करिडोर निर्माण आरम्भ भएको २६ वर्षपछि हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–५ चुवाखोलामा असार १० गते बेलिब्रिज निर्माण सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ। यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालसँग जोड्नेछ।

प्रकाशित मिति : आइतबार, असार २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij