बुटवल-नेपाली रंगमञ्चमा केही नामहरू छन्, जसको पहिचान स्टेजको उज्यालोभन्दा परको अँध्यारो तयारीमा खोजिनु पर्छ। तीमध्ये एक नाम हो—बाबुराम घिमिरे। उनले नाटकलाई केवल कलाको रूपमा होइन, सामाजिक परिवर्तनको माध्यमको रूपमा अँगाले। न त उनलाई चम्किलो पर्दाको मोहले तान्यो, न त लोभलालचको धागोले बाँध्यो। उनी रंगमञ्चमा बाँच्ने पात्र बने—जो मञ्चका संवादहरूमा होइन, दर्शकका आँसु र हाँसोमा जिउँदो छन्।
मोफसलमै जीवन, मञ्चमै सपना
वि.सं. २०२१ सालमा गुल्मीको पौदी अमराईबाट बाबुरामको परिवार रुपन्देहीको बुटवल सरेको थियो। त्यहीँ हुर्किए, पढे र कर्मक्षेत्र पनि त्यही बन्यो। बाल्यकालदेखि नै नाटकप्रतिको रुचि गहिरिँदै गयो। स्कुले जीवनमा चलचित्र हेर्न छुटाउँदैनथे। पर्दामा देखिने अभिनयले उनलाई छोइरहन्थ्यो। त्यो स्पर्शले उनलाई लेखन र अभिनयको दुनियाँतिर तानेर लग्यो।
२२ वर्षको उमेरमा हाँस्य कार्यक्रममार्फत स्टेजमा डेब्यु गरे। पहिलो पटक स्टेज चढ्दा मन डरले भरिएको थियो, तर त्यो डरले नै भविष्यको बाटो देखायो। त्यस दिनबाट सुरु भएको रंगयात्राले बाबुरामलाई कुनै क्षण पनि पछाडि फर्किन दिएन।
समाज परिवर्तनको नाटक
“मैले नाटक पैसाका लागि गरिनँ,” बाबुराम भन्छन्, “मैले समाज परिवर्तनको सपना बोकेर गरेँ।”
चार दशकभन्दा बढी समयदेखि रंगकला–लेखन–अभिनयमा निरन्तर लागेका बाबुरामले आफ्नो नाटकमार्फत सधैं समाजका पीडा, विडम्बना र चेतनाको विषय उठाएका छन्। उनका नाटकहरूमा बालविवाह, मानव बेचबिखन, जलवायु परिवर्तन, छाउपडी प्रथा, भूकम्प, द्वन्द्वपीडित, महिला हिंसा, भ्रूण हत्या जस्ता विषयहरू गहिरो रूपमा उठाइएको पाइन्छ।
उनी भन्छन्, “दर्शक नाटक हेरेर रोएको मैले देखेको छु। ती आँसु अभिनयका लागि होइन, चेतनाका लागि थिए।”
पारिवारिक साथ र नैतिक बल
रंगमञ्च यात्रा सस्तो छैन। बाबुरामले भने यस्तो कठिनाइका बीचमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन सके। यसको कारण थियो—पारिवारिक साथ।
“मैले पैसा हेरेर नाटक गरिनँ, परिवर्तन हेरेर गरें,” उनी भन्छन्, “र मेरो घरपरिवारले त्यसमा साथ दियो।”
साँच्चिकै, जब परिवारको समर्थन हुन्छ, तब सर्जकमा हिम्मत पलाउँछ। बाबुरामले त्यही हिम्मत बोकेर समाज बदल्ने सपना देखे।
बाबुरामका लागि नाटक कुनै किताबी परिभाषा होइन। उनी भन्छन्,
“नाटक भनेको संवादले मात्र होइन, आत्माले बोलेको हुन्छ। अभिनय भनेको भूमिका होइन, अनुभूति हो।”
उनका नाटकहरू स्क्रिप्ट मात्र होइनन्—जीवनका चोट, संघर्ष र संवेदनाका अभिव्यक्ति हुन्।
थिएटरमार्फत उनले गाउँका महिलाको दुस्ख देखाए, बालबालिकाको मौन चिच्याहट सुनाए, युवाको बेचैनी उजागर गरे।
५०० भन्दा बढी नाटकको यात्राः लेखक, निर्देशक र पात्र
बाबुराम घिमिरेको रंगमञ्च यात्रा अत्यन्तै समृद्ध छ। उनले ५०० भन्दा बढी नाटकमा अभिनय, लेखन र निर्देशन गरेका छन्।
ठूला पर्दामा ‘दर्पण छायाँ’ देखि ‘होस्टेल रिटर्न’ सम्म अभिनय गरे। आफ्नै लेखन र निर्देशनमा बनेको चलचित्र ‘हाम्री चेली’ दर्शकमाझ निकै रुचाइएको थियो।
उनले ‘पर्खाइ’, ‘साहारा’, ‘प्रेत आत्मा’, ‘बूढापाका’ जस्ता सर्ट मुभीमार्फत समाजलाई झस्काउने काम गरेका छन्।
अहिले उनी ‘सेतीबेनी’ नामक डकु–ड्रामा प्रदर्शनको तयारीमा छन्—जहाँ यथार्थ र कल्पनाको संयोजनमार्फत समाज नजिकबाट चिहाउन खोजिएको छ।
उनी विश्वास गर्छन्—पुरानो पुस्ताको सन्देश नयाँ पुस्तासम्म पुर्याउनु जरुरी छ। त्यसैले उनले विद्यालय–विद्यालय पुगेर बालबालिकालाई साना नाटक देखाउँछन्। अभिनयको चेतना जगाउँछन्।
“अभिनय गर्ने चाहने धेरै छन्, तर अभिनय सिक्न चाहने थोरै,” उनी भन्छन्।
त्यसैले उनी अहिले मोफसलमै नाटक सिकाउने अभियानमा छन्। राजधानीतिर नलागी गाउँमै नाटकको बीउ रोपिरहेका छन्।
आजकल डिजिटल माध्यमको वर्चस्व छ। टिकटक, फेसबुक र युट्युबजस्ता प्लेटफर्महरूले युवालाई तानिरहेका छन्। बाबुराम यो चुनौती स्वीकार गर्छन्, तर थिएटरको विशेषतालाई कहिल्यै कमजोर मान्दैनन्।
“लाइभ नाटक हेर्नुको स्वाद बेग्लै हो,” उनी भन्छन्, “जुन डिजिटल माध्यममा सम्भव छैन।”
उनी स्थानीय सरकारसँग निरन्तर आग्रह गरिरहन्छन्—“राष्ट्रका गहना कलाकारहरूलाई स्थानीय तहले नै जोगाउनु पर्छ।”
सम्मान र सामाजिक संलग्नता
उनले लुम्बिनी बागमय प्रतिष्ठान, सिड्स नेपाल, मोतीपुर खानेपानीजस्ता संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन्।
सामाजिक क्षेत्रमा पनि उनी त्यत्तिकै सक्रिय छन्।
उनले निम्न संघ–संस्थामा नेतृत्व, सल्लाहकार वा सहकार्यकर्ताको भूमिकामा काम गरिसकेका छन्।
सिड्स नेपाल (संस्थापक अध्यक्ष)
बटौली नाट्य कला मञ्च (अध्यक्ष)
मोतीपुर मावि ९विद्यालय व्यवस्थापन समिति (अध्यक्ष)
प्रकृति मानव संस्था (उपाध्यक्ष)
मोतीपुर खानेपानी, चारकुला खानेपानी (सल्लाहकार)
उनी माइती नेपाल, केआई नेपाल, चेली नेपाल, रेडक्रस, ट्रान्सपरेन्सी नेपाल, साङ्गालो बचत सहकारी, एकल महिला समूह लगायतसँग सहकार्य गर्दै आएका छन्।रुपन्देही, नवलपरासी, कपिलवस्तु, चितवन लगायत जिल्लाहरूमा उनले ५०० भन्दा बढी प्रस्तुतिहरू गरिसकेका छन्।
सडक नाटकमार्फत चेतनाको उज्यालो
बाबुराम घिमिरेले धेरै सडक नाटकहरू लेखेका, निर्देशन र मञ्चन गरेका छन्। उनका सडक नाटकहरूमा सामाजिक समस्या मात्र होइन, समाधानको मार्ग पनि देखिन्छ।
उनले मानव बेचबिखन,लागुऔषध,सुरक्षित मातृत्व,एचआईभी एड्स,वालविवाह,जलवायु परिवर्तन,भ्रूण हत्या,भ्रष्टाचार,यौन रोग,आत्महत्या रोकथाम,खानेपानी र वालअधिकार,दाइजो प्रथा,महिला हिंसा,प्राकृतिक विपद,वन विनाश जस्ता विषयमा सडक नाटकहरू प्रस्तुत गरेका छन्।
आज हामी नाटक हेरेर फर्किन्छौं। केही क्षण ताली बजाउँछौं, केही संवाद सम्झन्छौं। तर बाबुराम घिमिरे‘ उनी त नाटकमै बाँच्छन्।
नाटकका लागि लेखिन्छन्, पात्रमा प्रवेश गर्छन्, र फेरि समाजका भोगाइ भएर मञ्चमा उभिन्छन्।
उनी नेपाली रंगकला–संस्कृतिका ती ज्योति हुन्, जो मोफसलको माटोबाट पनि राष्ट्रिय मञ्च उज्यालो बनाइरहेका छन्।
प्रकाशित मिति : शनिबार, साउन ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्