JanataToday.com

Advertisment

SKIP THIS

तामनगरमा ७ करोडको लगानीमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन हल निर्माण गरिने

तामनगरमा ७ करोडको लगानीमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन हल निर्माण गरिने

बुटवल,  रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने सो अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन हलको डीपीआर ९विस्तृत परियोजना प्रतिवेदन० पनि तयार भएको छ । झण्डै ७ करोडको लगानीमा निर्माणसम्पन्न हुने सो आधुनिक र सुविधासम्पन्न ब्याडमिन्टन हलको निर्माणपछि बुटवलमा पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु सञ्चालन गर्न सकिने छ ।

डिपिआर पश्चात गणेशटोलमा रहेको सो जग्गाको भोगाधिकारको प्रक्रिया सुरु भएको र अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलको लागि आवश्यक जग्गा प्राप्ती पश्चात भौतिक पूर्वाधार निर्माणका काम सुरु हुने तामनगर ब्याडमिन्टन क्लबले जनाएको छ । यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरी प्रक्रिया अघि बढाइएको र यस वर्ष नै संघीय सरकारले अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलका लागि ३ करोड बजेट बिनियोजन गरेको क्लबका अध्यक्ष सुभास कर्माचार्यले बताउनुभयो ।

शनिबार तामनगरमा आयोजित क्लबको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा बोल्दै अध्यक्ष कर्माचार्यले सो कुरा बताउनुभएको हो । यसअघि पनि बुटवल उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा केही पूर्वाधार निर्माणको कामहरु भएको जानकारी गराउँदै अध्यक्ष कर्माचार्यले यसपटक विशेष महत्वका साथ बजेट बिनियोजन गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आभारसहित धन्यवाद व्यक्त गर्नुभयो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै वडाअध्यक्ष डिल्ली प्रसाद शर्माले बुटवल उपमहानगरपालिका, प्रदेश सरकार, संघीय सरकार सबैको सहयोगबाट यो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ब्याडमिन्टन हल निर्माण हुने स्थलमा निकट भविष्यमा जग्गाको नापजाँच हुने आवश्यक प्राविधिक तयारी भइरहेको जानकारी गराउनुभयो । नापजाँचपछि फिल्डबुक तयार हुने र फिल्डबुक तयार भइसकेपछि जग्गाको भोगाधिकारको प्रक्रिया तत्काल अघि बढाइने उहाँले बताउनुभयो ।

पूर्व वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले सम्पूर्ण वडाबासीका लागि गौरवको योजनाका रुपमा रहेको यो परियोजनालाई सफल बनाउन जुनसुकै परिस्थिति र चुनौतीको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भुपु सैनिक कल्याणकारी क्लब तामनगरका अध्यक्ष पुरन बहादुर शाहीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउँदै सबैलाई सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।

ब्याडमिन्टन क्लबका पूर्व अध्यक्ष बालकृष्ण पौडेलले परियोजना सफल बनाउन राजनैतिक, सामाजिक, व्यक्तिगत सबैप्रकारले सहयोग गर्न राजनैतिक दल, समाजसेवी, बुद्धिजीवी, पत्रकार सबैलाई आग्रह गर्नुभयो ।पूर्व अध्यक्ष मधु पुलामीमगरले सबैले तन, मन धनले सहयोग गरेर विगतमा जस्तो बजेट फ्रिज हुने अवस्था नआउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष बुद्ध गहतराज, सचिव केशव तिवारी, पूर्व सचिव चुरन थापा, कोषाध्यक्ष रामु सुवेदी, सदस्य ढुण्डिराज खनाल लगायतले क्लबको स्थापनाको उद्देश्य, यस अवधिमा भएगरेका गतिविधिहरु र आगामी योजनाका बारेमा चर्चा गर्नुभएको थियो ।

वि।सं।२०७२ सालमा स्थापना भएको सो क्लबमा २६ जना आजीवन सदस्य र २४ जना साधारण सदस्य गरी कुल ५० जना सदस्य छन् ।

यसैबीच हिजो सम्पन्न साधारण सभाले बुटवल–१२ का विभिन्न स्थानमा रहेका पाँचवटा क्लबहरुलाई एकै ठाउँ मर्ज गरेर एउटै बृहत क्लब बनाउने उद्देश्यका साथ ती क्लबहरुसँग संवाद गर्ने र गाभ्ने विषयमा छलफल गरी टुंगो लगाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सो अवसरमा संस्थालाई प्रत्यक्ष सहयोग पुर्याएर योगदान गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो ।

साथै २०८१ सालको माध्यमिक शिक्षा परीक्षा मा उत्कृष्ट नतिजा ल्याउन सफल क्लबका सदस्य परिवारका विद्यार्थीहरुलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : आइतबार, साउन ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij