रुपन्देही — तिलोत्तमा नगरपालिका लगातार दोस्रोपटक देशकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा उत्कृष्ट ६ नगरमध्ये एकमा पर्नुका साथै लुम्बिनी प्रदेशकै पहिलो स्थानमा छानिएको हो।
अघिल्लो आर्थिक वर्ष पनि तिलोत्तमा उत्कृष्ट स्थानीय तह घोषित भएको थियो। नगर प्रमुख रामकृष्ण खाँणका अनुसार विकासका पाँचवटै प्रमुख क्षेत्र — आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन–पर्यावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासमा देखिएको नतिजामूलक कामका कारण तिलोत्तमाले लगातार उत्कृष्टता कायम गरेको हो।
नगर प्रमुख खाँणले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको योगदान विशेष स्मरणीय रहेको बताए। उनका अनुसार परियोजना बैंक निर्माण र आयोजना वर्गीकरण (प्राथमिकता प्राप्त, नगर गौरव र नगरस्तरीय स्वर्णीम आयोजना) जस्ता नवीन सोच र अभ्यासले नगरपालिकालाई देशमै अब्बल बनाउन टेवा पुर्याएको हो।
संघीय मामिला मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको नौ क्षेत्र — शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय — का आधारमा मूल्यांकन गर्दै आएको छ।
यी सबै सूचकमा तिलोत्तमा नगरपालिकाले १०० मध्ये ९७.२५ प्रतिशत अंक प्राप्त गरेको नगर प्रमुख खाँणले जानकारी दिए। उनका अनुसार नगरपालिकाले कुल २६ वटा सूचकमा उत्कृष्ट काम गरेको छ।
प्रकाशित मिति : शनिबार, भाद्र ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्