भैरहवा, नेकपा एमाले का पोलिटब्यूरो सदस्य सूर्य थापाले पार्टीको नेतृत्व परिवर्तन नहुने दावी गर्नुभएको छ । उहाँले नेतृत्व परिवर्तन हुने स्थिति नरहेको बताउनुभएको हो ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै थापाले केपी शर्मा ओलीको नेतृत्वमा सर्वसम्मत रुपमा जानुपर्ने धारणा राख्नुभयो । मनमा कुण्ठा पालेर प्रतिष्पर्धामा गए त्यसले जित्ने ठाउँमा नपुर्याउने उहाँले बताउनुभयो ।
सही दृष्टिकोणले समाजलाई अघि बढाउन नेतृत्व गर्न सक्ने ल्याकत र तागत भएका व्यक्तिहरुलाई नेतृत्व तहमा ल्याउन जरुरी रहेको उहाँको भनाइ छ । प्रतिष्पर्धासँग डराएर प्रतिष्पर्धालाई रोक्ने र निषेध गर्ने काम एमालेले नगर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले एमाले नेताप्रधान नभइ नीतिप्रधान पार्टी भएको बताउनुभयो ।
‘एमाले राष्टिय राजनीतिको पहिलो शक्ति हो, ’उहाँले भन्नुभयो–‘जनतालाई गोलबन्द गरेर एकताबद्ध हुनुपर्छ । केपी शर्मा ओलीको नेतृत्वमा त्यो सम्भव छ ।’
एमालेको ११ औं महाधिवेशनको मानक बनाएर अन्य पार्टीले महाधिवेशन गर्ने उहाँको दावी छ । ‘हामीलाई खुद्रा होइन थोक पसलसँग प्रतिष्पर्धा गर्ने मन छ । थापाले भन्नुभयो–‘हामी कमजोर होइन बलियासँग प्रतिष्पर्धा गर्न चाहन्छौं ।’
एमालेभित्र पार्टीमाथिका संकटका सन्दर्भमा केही प्रवृत्ति मौन र रमिते देखिएको उहाँको भनाइ छ । उहाँले मौनता के का लागि हो भन्ने आफूले नबुझेको बताउनुभयो । पार्टीको नेतृत्वमा नबोल्ने ढुंगाको देवता जस्तो मान्छे ल्याउन नहुने थापाको तर्क छ ।
प्रतिनिधि सभाका निवर्तमान सदस्यसमेत रहनुभएका थापाले एमालेको नेतृत्वबाट केपी शर्मा ओलीलाई आजै बिदा गर्ने जस्तो माहोल बनाइएको बताउनुभयो । ‘त्यो इच्छा पूरा हुँदैन, इच्छा पूरा हुन दिइदैन, उहाँले भन्नुभयो–‘केपी शर्मा ओली अध्यक्ष नहुँदा ज–जसलाई आफ्नो स्वार्थको रोटी सेक्ने भन्ने लाग्या छ, त्यो इच्छा पूरा हुन दिइने छैन ।’
पार्टीको मूल नेतृत्वलाई सहयोग गर्ने, नीतिमा स्पष्टता भएको पदाधिकारी आवश्यक रहेको उहाँको भनाइ छ । एमाले बलियो हुने बेला कमजोर बनाउने कोशिष गर्ने प्रयास गरिदा पार्टी भने कमजोर नभएको उहाँले दावी गर्नुभयो ।
‘सर्वोच्च अदालतले संवैधानिक परीक्षणका निम्ति सुनुवाइ गरिरहेको छ । संविधान पढ्ने हो भने पुर्नस्थापनाबाहेक अर्को विकल्प छैन, ’उहाँले भन्नुभयो–‘प्रतिनिधि सभा पुर्नस्थापना गरी सर्वदलीय सर्वपक्षीय सरकार बनाएर आवश्यक संविधान संशोधन गरेर ग¥यौं भने अर्ली इलेक्शनमा जान सकिन्छ ।’ निर्वाचनको वातावरण बनाएर जानुपर्ने थापाको भनाइ छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्