काठमाण्डौ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ । दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेस होल्ड (३ प्रतिशत) पार गर्ने ६ दलले पाउने सिट निर्धारण गरिएको हो ।
आयोगले ३ दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेश गर्न हिजो नै दलहरूलाई पत्राचार गरेको जनाएको छ । समानुपातिकतर्फको औपचारिक नतिजा घोषणासँगै प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको छ ।
रास्वपाको प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ५७ सहित १ सय ८२ सांसद रहने छन् । त्यस्तै, नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद रहने छन् । नेकपा एमालेको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट रहनेछ भने नेकपाको प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ९ गरी १७ सांसद संसद्मा रहने छन् ।
श्रम संस्कृति पार्टीको प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार गरी सात सांसद तथा राप्रपाबाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी पाँच सांसद रहने छन् ।
त्यस्तै, प्रतिनिधिसभामा स्वतन्त्र एक सांसद रहने छन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्