काठमाडौ , नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा उठेर हिँडेको सन्दर्भमा उनले आफूहरूले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भन्ने सुनेकाले स्वास्थ्य परीक्षण गरी संसदलाई जानकारी गराउन माग गरेका हुन्। आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले थाहा पाउनुपर्ने उनले बताए।
आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बाहिर निस्किने पहिलो प्रधानमन्त्रीको रेकर्ड राखेको तर्क गरे। ‘गिनिज बुकमा लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुस्ख व्यक्त गरौं, सभामुख महोदय रु’, उनले व्यंग्य गरे। उनले प्रधानमन्त्रीको व्यवहारले देशको शिर निहुरिएको तर्क गरे ।
आङ्देम्बेले सोमबारको संसद् बैठकलाई मर्यादित बनाउन नसकेको भन्दै सभामुख डोलराज अर्यालको समेत आलोचना गरे। उनले संसद् बैठकलाई मर्यादित बनाउन सभामुखले पहल नै नगरेको आरोप लगाए।
उनले गृहमन्त्रीको भूमिकामा रहेका प्रधानमन्त्री शाहकै कारण संसदीय समितिको बैठकको समेत बस्न नसकेको स्मरण गराए। शाह समितिको बैठकमा आएर जवाफ दिन पछि हटेकोमा उनले आश्चर्य व्यक्त गरे। उनले नयाँ गृहमन्त्री नियुक्त गर्न नसकेकोमा पनि प्रधानमन्त्रीको आलोचना गरे।
‘प्रधानमन्त्री राज्यव्यवस्था समितिमा आएर दुइवचन जवाफ दिन पनि हिच्किचाइरहनु भएको छ। एउटा मन्त्रालयलाई मन्त्री दिन सक्नु हुन्न भने यति ठूलो जिम्मेवारी कसरी पुष्टि गर्नुहुन्छ’, उनले प्रश्न गरे।
प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्