मोतिपुर-महिला उद्यम प्रवद्र्धन तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यका साथ बुटवलमा सञ्चालन गरिएको ३० दिने ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सम्पन्न भएको छ।
बुटवल उपमहानगरपालिका–१७ रानीगन्जस्थित मोतिपुर मगर महिला समूहको आयोजनामा वैशाख ६ गतेदेखि सञ्चालन भएको तालिम आइतबार सम्पन्न भएको हो।
समापन कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन स्थानीय उत्पादनको प्रवद्र्धन अपरिहार्य रहेको बताउनुभयो। उहाँले नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आयातित कपडाको विकल्पका रूपमा स्वदेशमै उत्पादित ढाका कपडाको प्रयोग गर्न आग्रह गर्नुभयो।
“अहिलेसम्म धेरैजसो कपडा र घलेकहरू भारतबाट तयार भएर आउने गरेका छन्,” उहाँले भन्नुभयो, “अब तपाईंहरूले आफैं उत्पादन गरेका लुङ्गी, साडी र सलहरूलाई आफ्नो पोसाकका रूपमा प्रयोग गर्नुपर्छ।”
उपप्रमुख अर्यालले तालिममा सहभागी महिलाहरूले छोटो समयमै गुणस्तरीय ढाका कपडा उत्पादन गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै यसको बजार देशभित्र मात्र नभई विदेशमा समेत विस्तार गर्न सकिने सम्भावना रहेको बताउनुभयो। युके, अमेरिका र अस्ट्रेलियामा रहेका नेपाली समुदायमाझ ढाका उत्पादनलाई मायाको चिनोका रूपमा प्रवद्र्धन गरी व्यावसायिक बिक्री बढाउन सकिने उहाँको भनाइ थियो।
उहाँले बजारको मागअनुसार उत्पादनमा विविधता ल्याउन सुझाव दिँदै ढाकाकै कपडाबाट आकर्षक झोला तथा अन्य सामग्री उत्पादन गर्न आग्रह गर्नुभयो। साथै ‘मोतीपुर–१७ रानीगन्ज’ लाई महिला उद्यमीहरूले उत्पादन गरेका सामग्री अवलोकन र खरिद गर्ने नमूना केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
सीपमूलक तालिम लिएर त्यसलाई आयआर्जनसँग नजोड्ने व्यक्तिहरूलाई आगामी दिनमा बजेट उपलब्ध नगराइने नीति लिइएको उल्लेख गर्दै उपप्रमुख अर्यालले सीपलाई व्यवहारमा उतार्ने र निरन्तरता दिने समूह तथा व्यक्तिलाई मात्र प्रोत्साहन गरिने स्पष्ट पार्नुभयो। उहाँले महिलाहरू घरायसी काममा मात्र सीमित नभई घरमै बसेर पनि आम्दानी गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा उपप्रमुख अर्यालले आफ्नो कार्यकालको अवधि सीमित भए पनि महिलाहरूका लागि ढाका बुनाइ, बुटिक तथा अन्य सीपमूलक तालिमलाई आगामी बजेट योजनामार्फत निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
मोतिपुर मगर महिला समूहकी अध्यक्ष हिमकुमारी थापाले महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम अत्यन्त आवश्यक रहेको बताउँदै ढाका बुन्ने जस्ता परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्न सके महिलाहरू आत्मनिर्भर बन्न सक्ने धारणा राख्नुभयो। तालिमका प्रशिक्षक केसरी मगरले ढाका बुन्ने कला मगर समुदायको मात्र नभई समग्र नेपाली परम्परा, संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताउनुभयो। उहाँले ढाका केवल कपडा नभई नेपाली इतिहास र सांस्कृतिक पहिचानको प्रतीक भएको उल्लेख गर्दै यस्ता तालिमले परम्परागत सीप संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट माया विष्ट क्षेत्री ले बोल्नुभएको थियो भने संस्थाका सहसचिव लिला रास्कोटिको स्वागत एवम सचिव सुनिता रास्कोटिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्