बुटवल—रूपन्देहीको तिलोत्तमामा आइतबारदेखि दुईदिने तेस्रो दलित ज्ञान उत्सव सुरु हुने भएको छ। तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलनमार्फत असार २१ र २२ गते उत्सव आयोजना गरिने जानकारी दिएको हो।
नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र विभेदमुक्त समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। उनले आगामी दिनमा जनजाति समुदायका लागि पनि यस्तै प्रकृतिको ज्ञान उत्सव आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।
कार्यपालिका सदस्य सुरेन्द्र श्रीका अनुसार उत्सवमा दलित समुदायका ज्ञान, अनुभव र अधिकारका विषयमा बौद्धिक बहस, चित्रकला, कविता तथा विभिन्न विषयगत छलफल हुनेछन्।
उत्सव संयोजक रवि सेन्चुरीले कार्यक्रमले सामाजिक समानता, जातीय सद्भाव र सामाजिक न्याय प्रवर्द्धनमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार आइतबार पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गर्नेछन् भने सोमबार जन्मजय तिमिल्सेनाले समापन गर्ने कार्यक्रम रहेको छ।
पहिलो दिन विभेदविरुद्ध चित्रकला, संरचनात्मक विभेद, युवा र महिला जनप्रतिनिधिको भूमिका, सारङ्गीको इतिहास, कविता तथा सांगीतिक प्रस्तुति रहनेछ। दोस्रो दिन स्थानीय तहको सामाजिक न्यायमा भूमिका, दलित उद्यम, बजारीकरण, राजनीतिक दलको भूमिका, पञ्चेबाजाको इतिहास तथा प्रशासनिक समावेशितालगायत विषयमा छलफल हुनेछ।
तिलोत्तमा नगरपालिकाले प्रत्येक वर्ष नीति, कार्यक्रम र बजेटमार्फत दलित ज्ञान उत्सव आयोजना गर्दै आएको छ। आयोजकले यस उत्सवले ज्ञान र संवादमार्फत जातीय विभेद अन्त्य तथा सामाजिक समानता प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति : शनिबार, असार २० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्