पाल्पा , विप्लव नेतृत्वको नेकपा माओवादी पाल्पाका नेताले बाँझा खेत भाडामा लिएर खेती गर्दै आएका छन्।
अहिले धान रोप्ने बेला हो। रिब्दीकोट गाउँपालिका–२ लघुवा फाँटमा रहेका खेतमा १५ दिनदेखि उनीहरूले धान रोपिरहेका छन्। पार्टीका जिल्ला इन्चार्ज मीन सी, सेक्रेटरी सुकुमार सी, प्रदेश कमिटी सदस्य तथा उत्पादन विभाग पाल्पाका प्रमुख आकाश सी र संघर्ष सीको नेतृत्वमा खेती गर्दै आएका छन्।
खेती गर्न ती नेताकै परिवार खटिएका छन्। राजनीति गर्न व्यक्ति र परिवार आर्थिक रूपले आत्मनिर्भर हुनुपर्ने नेकपा माओवादी पाल्पाका इन्चार्ज मीन सीले बताए। उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नु भएको उनले बताए।
उनले भने‚ ‘लघुवा फाँटमा रहेको ८० रोपनी खेतमा कृषि व्यवसाय गर्दै आएका छौं। धान, मकै, गहुँ, तोरी, मुसुरो खेती गर्दै आएका छौँ।’
कृषिमा आत्मनिर्भर हुने लक्ष्य हो। आयातित तरकारी सहित खाद्यन्नमा कमिसन खाने पुँजीवादीहरूका कारणले यहाँका जनता मारमा परेको उनले बताए।
जन कमिटीको अधीनमा रहेर खेती गर्दै आएको पार्टीका सेक्रेटरी सुकुमार सीले बताए। सी कृषि फर्म दर्ता गरेर व्यवसाय थालेको उनले बताए। तानसेन नगरपालिका–५ धरमपानीमा ६ रोपनी जमिनमा तरकारी खेती गर्दै आएको उनले बताए।
तिनाउ गाउँपालिका–२ मा पार्टीको नाममा रहेको २३ रोपनी जमिनमा एक हजार कागतीका बिरुवा रोपेको उनले बताए। देउरालीमा टिमुर रोपिएको छ।
‘चन्दा मागेर पार्टी चल्दैन। नेता, कार्यकर्ता र पार्टी आर्थिक रुपले बलियो हुनुपर्छ। उत्पादनमा सक्रिय भएर लागे चन्दाको आशा गर्नु पर्दैन’‚ प्रदेश कमिटी सदस्य तथा उत्पादन विभाग पाल्पाका प्रमुख आकाश सीले बताए।
तीन वर्षदेखि यहाँ खेती गर्न थालिएको हो। गत वर्ष १५० मुरी धान, ६० मुरी गहुँ, २० क्विन्टल आलु, मकै, तोरी, मुसुरोको दाल उत्पादन भएको उनले बताए। यहाँ उत्पादित बस्तु बिक्रीका लागि समस्या नभएको उनले बताए। खेतबाटै धान, गहुँ लगायतका उत्पादन बिक्री हुने गरेको छ।
बाँझिएका खेत हराभरा देख्दा स्थानीय किसान दीपक कुँवर दंग छन्। ३७ वर्ष भारतमा बसेर नेपाल फर्किएका उनी अहिले त्यही समूहमा मिलेर खेती गर्न थालेका छन्। उनले आफ्नै साढे २२ रोपनी जमिनमा खेती गर्दै आएका छन्।
प्रकाशित मिति : सोमबार, असार २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्