बुटवल- रोटरी क्लब अफ तिनाउ बुटवलको दशौं पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२५/२६ की अध्यक्ष उमा आचार्यले वर्ष २०२६/२७ की अध्यक्ष माया देवी भट्टराईलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुभएको हो।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिष्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले रोटरी क्लब अफ तिनाउ बुटवलले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सेवामूलक अभियानलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो। नेपालमा १६३ वटा रोटरी क्लब रहेको र तीमध्ये महिलाले मात्रै नेतृत्व गरेका पाँच क्लबमध्ये रोटरी क्लब अफ तिनाउ बुटवल पनि एक रहेको उल्लेख गर्दै उहाँले महिला नेतृत्व प्रभावकारी र उदाहरणीय रहेको बताउनुभयो।
डिष्ट्रिक्ट सचिव लक्ष्मण ज्ञवालीले क्लबको पहिचान र गरिमालाई कायम राख्दै अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो। क्लब एड्भाइजर तथा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले स्थापना भएको छोटो अवधिमै तिनाउ बुटवलले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै त्यसलाई दीर्घकालसम्म कायम राख्ने गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो। साथै उहाँले पूर्व अध्यक्षहरूको सक्रिय सहयोगले क्लब अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वर्ष २०२५/२६ का असाइन्ड असिस्टेन्ट गभर्नर दिनेशमणि सुवेदी तथा वर्ष २०२६/२७ का असाइन्ड असिस्टेन्ट गभर्नर इन्जिनियर दुजेन्द्र बस्नेतले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा पछाडि परेका समुदायको उत्थानमा रोटरीको भूमिका अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
निवर्तमान अध्यक्ष उमा आचार्यले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अधुरा रहेका योजनालाई नयाँ नेतृत्वले सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गत वर्ष एकल महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले मखमली जुत्ता बनाउने तालिम सञ्चालन गरिएको तथा तीन जना विपन्न परिवारका छात्रालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो।
नवनिर्वाचित अध्यक्ष माया देवी भट्टराईले आफ्नो कार्यकालमा वृक्षरोपण, स्वास्थ्य सचेतना, महिला सशक्तीकरण, छोरी शिक्षा कार्यक्रम अन्तर्गत छात्रवृत्तिलाई निरन्तरता तथा रोटरीको मूल्यमान्यताअनुसार सामाजिक सेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा क्लबका संस्थापक देवी वाग्ले, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्षहरू कल्पना तिवारी र रमिला शर्मा, निवर्तमान सचिव सबिता निरौला, प्रेसिडेन्ट इलेक्ट समा प्रविन, सचिव रमा क्षेत्री तथा रोट्र्याक्ट क्लब अफ तिनाउकी अध्यक्ष सिर्जना भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रकाशित मिति : बिहिबार, असार ३२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्