काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष न्यायिक छानबिन, कानुनी शासनको प्रत्याभूति र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त रूपमा आठ बुँदे विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका हुन्।
उनीहरूले हालै भएका सबै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्। घटनाको वास्तविकता सार्वजनिक भए मात्र नागरिकको विश्वास कायम हुने उनीहरूको भनाइ छ।
संयुक्त विज्ञप्तिमार्फत नेताहरूले आम नागरिकलाई संयम, धैर्य र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। घृणा, उत्तेजना र विभाजनकारी अभिव्यक्तिले समाजमा थप तनाव सिर्जना गर्ने उल्लेख गर्दै उनीहरूले सबैलाई सत्य, न्याय र संविधानको शासनको पक्षमा उभिन आह्वान गरेका छन्।
विज्ञप्तिमा पछिल्ला घटनालाई लिएर मधेसलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको आशंका पनि व्यक्त गरिएको छ। यस्ता गतिविधिप्रति सरकार गम्भीर बन्नुपर्ने र शान्ति, फ्सुरक्षा तथा सामाजिक एकता कायम गर्न प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ।
नेताहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा समेत जोड दिएका छन्।
प्रकाशित मिति : बिहिबार, साउन १४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्