तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा र बुटवल क्षेत्रमा सञ्चालित २५ वटा स्पामा प्रहरीले एकैपटक छापा मारेको छ।
स्पा तथा मसाज सेन्टरको आवरणमा अमर्यादित तथा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले हिजो विभिन्न स्थानमा रहेका स्पामा एकसाथ अनुगमन तथा छापा मारेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी निशान्त श्रीवास्तवका अनुसार छापाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा इनटाउनबाट सात महिला र पाँच पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय बुटवल तथा तिलोत्तमा क्षेत्रमा सञ्चालन भइरहेका केही स्पामा सेवा प्रवाहको नाममा मर्यादाविपरीत असामाजिक गतिविधि भइरहेको सूचना प्राप्त भएपछि निगरानी बढाएको थियो। सोही सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी एकैपटक २५ वटा स्पामा निरीक्षण गरिएको डिएसपी श्रीवास्तवले जानकारी दिए।
छापाका क्रममा प्रहरीले स्पा सञ्चालनको अवस्था, सेवाग्राहीको विवरण राख्ने प्रक्रिया तथा त्यहाँ भइरहेको गतिविधिबारे समेत जानकारी लिएको थियो। अनुगमनका क्रममा केही स्पामा सुधार गर्नुपर्ने अवस्था देखिएपछि सञ्चालकहरूलाई सचेत गराइएको प्रहरीले जनाएको छ।
विशेषगरी सीमावर्ती क्षेत्रबाट आउने भारतीय नागरिकसमेत बुटवल तथा तिलोत्तमाका स्पामा पुग्ने गरेको भन्दै प्रहरीले सेवाग्राहीको पहिचान खुल्ने विवरण अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। भारतीय नागरिक स्पामा आएमा उनीहरूको परिचय खुल्ने आधिकारिक कागजपत्रको विवरण राख्न तथा नेपाली नागरिकको हकमा नाम, ठेगानासहित आवश्यक अभिलेख राख्न स्पा सञ्चालकहरूलाई निर्देशन दिइएको डिएसपी श्रीवास्तवले बताए।
प्रहरीले स्पा तथा मसाज सेन्टर व्यवसायलाई मर्यादित र कानुनसम्मत रूपमा सञ्चालन गर्नसमेत व्यवसायीहरूलाई आग्रह गरेको छ। सेवा व्यवसायको नाममा कुनै पनि किसिमका गैरकानुनी वा अमर्यादित गतिविधि भएको पाइए कानुनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।
बुटवल तथा तिलोत्तमा क्षेत्रमा पछिल्लो समय स्पा तथा मसाज सेन्टरको संख्या बढ्दै गएको अवस्थामा प्रहरीले यस्तो व्यवसायमा हुने सम्भावित विकृति नियन्त्रण गर्न अनुगमनलाई कडाइ गरेको हो।
प्रहरीले आगामी दिनमा समेत यस्ता व्यवसायमाथिको निगरानी र अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित मिति : बिहिबार, साउन २८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्