गल्छी–त्रिशूली सडक अवरुद्ध भएपछि चार नयाँ विकल्प, कुन रुटबाट कहाँ पुगिन्छ?

गल्छी–त्रिशूली सडक अवरुद्ध भएपछि चार नयाँ विकल्प, कुन रुटबाट कहाँ पुगिन्छ?

 

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले गल्छी–त्रिशूली राजमार्ग र विभिन्न पुलमा क्षति पुर्‍याएपछि अवरुद्ध यातायात सञ्चालन गर्न सडक डिभिजन नुवाकोटले चार वटा वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ। डिभिजनले रसुवा, नुवाकोट र धादिङलाई जोड्ने गरी विभिन्न वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरेर यातायात सञ्चालनमा ल्याएको जनाएको छ।

पृथ्वी राजमार्गको मास्टारदेखि धादिङबेसीसम्म करिब १५ किलोमिटर लामो वैकल्पिक सडक सञ्चालनमा आएको छ। यो मार्ग केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसी पुग्छ।

यस मार्ग सञ्चालनमा आएसँगै मुख्य सडक अवरुद्ध हुँदा समेत धादिङबेसीतर्फ आवतजावत गर्न विकल्प उपलब्ध भएको छ। त्यस्तै, त्रिशूली नदीपारिका बस्तीलाई यातायात सञ्जालमा जोड्न गल्छीदेखि त्रिशूली बजार हुँदै किस्पाङ गाउँपालिकाको सीमासम्म करिब ४० किलोमिटर लामो वैकल्पिक सडक सञ्चालन गरिएको छ।

यो सडक कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै त्रिशूली बजार पुग्छ। यसबाट धादिङको गल्छीसहित नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्रको सडक सम्पर्क सहज भएको छ। यसैगरी, देवीघाटस्थित तादी खोला पुलमा क्षति पुगेपछि त्यसको विकल्पमा पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडक सञ्चालनमा ल्याइएको छ।

करिब ३५ किलोमिटर लामो उक्त मार्गमा चारपाङ्ग्रे सवारी सञ्चालन गर्न सकिने बनाइएको छ। यसले नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई जोड्नेछ। रसुवातर्फ आवतजावत सहज बनाउन पनि वैकल्पिक सडक तयार पारिएको छ। ढिकुरे हुँदै फेदी, बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानो खोला, धनस्वारा, भोर्ले, जिबजिबे र बोगटीटारसम्मको करिब १२ किलोमिटर नुवाकोट खण्ड सञ्चालनयोग्य बनाइएको छ।

रसुवातर्फको बाँकी खण्डमा भने सडक मर्मत तथा सुधारको काम जारी रहेको जनाइएको छ। सडक डिभिजन नुवाकोटका अनुसार बाढी तथा पहिरोका कारण क्षतिग्रस्त सडकलाई शीघ्र सञ्चालनमा ल्याउन आपत्कालीन काम निरन्तर भइरहेको छ।

डिभिजनले पहिरो तथा अवरोध हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने, ग्राभेल राख्ने तथा जोखिमयुक्त स्थानमा आवश्यक मर्मत गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

मुख्य राजमार्ग र पुल पूर्ण रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक सडकमार्फत यातायात व्यवस्थापन गरिने बताइएको छ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij