JanataToday.com

Advertisment

SKIP THIS

‘म जाने दिन’

‘म जाने दिन’

 

धेरै थोक गए हेर्दा हेर्दै..

रसिलो बचपन गयो
कँसिलो यौवन गयो
रहरहरूको नदी गयो
मेरै हो कि जस्तो लाग्ने समय पनि
सुस्त सुस्त बगी गयो !

विवस भई मदन गयो
थला परी गौरी गइन
नरमाएर गुँडमा गौंथलीहरू गए
नअटाएर मुलुकमा मुगलानीहरू गए !

धेरै थोक आए पनि देख्दा देख्दै..

महिना महिनामा हुलाकी दाई आए
वर्ष वर्षमा बा-काकाहरू आए !
पहिले आस बोकेर चिट्ठीहरू आए
पछि लाश बोकेर बाकसहरू आए !

आँधी आए हुरी आए लहर आए
अगेनो भर्भराउँदा,मन डराउँदा
बन्दूक बोकेका पाहुना घर आए
भोट माग्नेहरू आए
चोट थप्नेहरू आए !

भित्र साह्रै गुम्सियो भनी
आँशुहरू आँखाको दोभानमा घाम ताप्न आए !
चाड मनाउन पर्नी हो भनी
दशैंको मुखमा मुखिया आँगनमा हात थाप्न आए !

‘जिन्दगी हो, आउने-जाने त चलिरहन्छ’
मन यसरी पनि बुझाइएथ्यो
मन जसरी पनि बुझाइएथ्यो !
दुःख त त्यती बेला लाग्यो-
जति बेला
फूल लत्याएर आफ्नाहरू टाढा गए
अनि
मुस्कान बोकेर दुश्मनहरू नजिक आए !

एकदिन,
मेरो आँगनमा पनि हुनेछ
एउटा गज्जबको नाटक मंचन

जो जसको अगाडी
मुस्कान बोकेर म उभिंदा
अंगार ओकलेका थिए,
तिनैले खोज्नेछन
मेरो सबै भन्दा बढी मुस्कुराएको तस्वीर !

जो जसको सामू
फूल लिएर म पुग्दा
फ्यांकेका थिए त्यसलाई सडकमा
र
कुल्चेका थिए निर्ममताको बुटले,
तिनैले रोज्नेछन
ठूला ठूला फूलका थुङगाहरू
र
उन्नेछन बिदाईको माला !

चढाउनेछन
मेरो निर्जीव मुस्कान माथि !
अनि
भन्नेछन-
मान्छे त राम्रो थियौ,गयौ !
…भावपूर्ण श्रद्धान्जली…!!

हेमन्त गिरीको फेसबुकबाट

प्रकाशित मिति : सोमबार, माघ १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij