बुटवल
बुटवलमा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीको लगत संकलन गरिएको छ । सोही संख्याका आधारमा उपमहानगरपालिकाले राहत प्याकेज समेत बनाएको छ ।
प्रारम्भिक तथ्यांकअनुसार छ हजार पाँच सय घरपरिवार राहतका लागि सहयोगापेक्षी रहेको पाइएको छ । उनीहरुलाई घरमै वा टोलमा उपयुक्त विधिबाट राहत वितरण गरिनेछ ।उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाले सिफारिस गरेका र वडा कार्यालयले प्रमाणिकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
अहिले संकलन गरिएको संख्यामा छुट भएमा पुनः सर्वेक्षण गरेर यकिन गर्न पनि दुई दिनको समय दिइएको छ । टोल विकास संस्था र वडाका जनप्रतिनिधिहरुले छुट भए नभएको फेरि यकिन गर्नेछन् । उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको ५६ औं बैठकले राहतका लागि कार्यविधि समेत पारित गर्दै राहतको प्याकेज बनाएको प्रमुख सुवेदीले बताउनुभयो । उपमहानगरले राहत सामग्री वितरण कार्यविधि २०७६ बनाउँदै व्यवस्थित रुपमा राहत वितरणको काम अगाडि बढाएको छ ।
अहिले संकलित तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नम्बर ११ मा रहेका छन् । जहाँ दुई हजार पाँच सय घरपरिवारले दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएको उपमहानगरपालिकाले जनाएको छ सबैभन्दा थोरै वडा नम्बर १८ मा एक सय घरपरिवार मात्रै रहेका छन् । यद्यपि यो संख्याको वास्तविकता भने फेरि जाँच गरिनेछ ।
दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने र अहिले लकडाउनको बेलामा काम बन्द भएर आपतमा परेका श्रमिकको परिवारलाई दस दिन पुग्ने अनुमान गर्दै १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन तत्कालै उपलब्ध गराउनेगरी कार्यविधि बनाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । सोही आधारमा वडा नम्बर १५ मा वितरणका काम सुरु भएको छ । त्यहाँ पाँच सय घरपरिवार रहेको तथ्यांक संकलन भएको छ ।
सहयोगार्थ राहत सामग्री प्रदान गर्न चाहनेहरुका लागिसमेत पायक पर्नेछ वडामा सम्पर्क गर्न सक्नेगरी अपील जारी गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । सहयोगापेक्षी आश्रम तथा संरक्षण केन्द्रलाई समेत राहत सामग्री उपलब्ध गराउने भन्दै प्राथमिकतामा राखेको र सोको समेत तथ्यांक संकलन गरेको प्रवक्ता रेग्मीले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले स्थापना गरेको राष्ट्रिय बाणिज्य बैंक बुटवल खस्यौली शाखामा सञ्चालन गरेको बिपद् व्यवस्थापन कोषको खाता नम्बर ३१२०००००१३०६ मा रकम जम्मा गर्न सक्ने गरी सार्वजनिक अपील गरेको छ ।
कोषमा हाल ५० लाख बराबरको बजेट छ । भने ससाना पूर्वाधार निर्माण तथा मर्मत सम्भार र विपद् व्यवस्थापन शिर्षकमा प्रत्येक वडामा सिलिङ निर्धारण गरिएको छ । उक्त शिर्षकमा बचत रहेको बजेटसमेत राहतका काममा प्रयोग गरिने भएको छ ।
कुनैपनि सामाजिक संघसंस्था, नागरिक अगुवा, समाजसेवी जोसुकैले पनि सो कोषमा रकम जम्मा गरी सहकार्य गर्न बुटवलले आह्वान गरेको छ । साथै प्रकोपको पूर्व तयारी स्वरूप कुनैपनि सहयोगीले जिन्सी सामान ९चाँडै नसड्ने० पनि उपमहानगरपालिकामार्फत जम्मा गर्न सक्नेगरी व्यवस्था मिलाएको छ ।
बुटवल उपमहानगरपालिकाले वास्तविक सहयोगापेक्षीलाई प्रभावकारी रुपमा सहयोग हस्तान्तरण होस् भन्ने उद्देश्यले वडा कार्यालय र टोल बिकास संस्थाको समन्वयमा राहत वितरण गर्न अपील गरेको प्रमुख सुवेदीले बताउनुभयो ।
उपमहानगरपालिकाका बिपद् व्यवस्थापनका फोकल पर्सन तथा बरिस्ठ अधिकृत विजयदेव भुर्तेलको इमेल, सामाजिक सञ्जाल र टेलिफोनमार्फत९८५७०२९०६६सम्पर्क गर्न सक्नेगरी व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्