रुपन्देही : बौद्ध परम्पराअनुसार पवित्र ‘कथिन’ उत्सव लुम्बिनीमा सम्पन्न भएको छ ।
तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । थाइल्याण्डका दाताको सहयोगमा आयोजित कथिन उत्सवमा लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महीना वर्षाबासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका २५ जना भिक्षुलाई बौद्ध परम्पराअनुसार कथिन चिबर दान र अष्टपरिष्कार दान गरिएको थियो ।
कथिन उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै थाइल्याण्डका भिक्षु फाराचुइनाइसुन्थ्रोले बुद्ध भूमिमा टेक्न पाउनु थाई नागरिकका लागि खुशीको कुरा भएको र बुद्धको भूमिमा यस्ता धार्मिक गतिविधि भइरहनु जरुरी रहेको बताए ।
अखिल नेपाल भिक्षु महासङ्घका महासचिव कौण्डन्यले बुद्ध शिक्षालाई जीवन्तता दिन कथिन चिबर दान कार्यक्रमले एउटा इँटा थप्ने काम गरेको बताए । राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले बुद्ध धर्म र बुद्ध शिक्षाको प्रचारप्रसारका लागि धेरै विदेशी दाताले इच्छा देखाएको बताउँदै त्यसको सदुपयोग गर्नुपर्ने बताए।
पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले लुम्बिनी सत्कर्मका लागि प्रेरणा दिने ठाउँ भएकाले छिट्टै शान्ति शहर घोषणा गर्नुपर्ने बताए । कार्यक्रममा बौद्ध शिक्षाका लागि योगदान पु¥याएको भन्दै स्थानीय महिला यमुनादेवी पौडेल, टीका कटेल, बिस्नु बस्याल र बौद्ध सेवा समितिलाई सम्मान गरिएको थियो । कार्यक्रमअघि लुम्बिनीको थाई मन्दिरबाट बृहत् झाँकीसहितको शोभा यात्रा निकालिएको थियो ।
कथिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षुसङ्घबाट परीत्राण पाठ तथा बुद्ध पूजा गरिएको थियो । पूजामा श्रीलङ्का तथा नेपालका विभिन्न क्षेत्रका भिक्षु, पाल्पा, बुटवल लुम्बिनीलगायतका विभिन्न ठाउँका बुद्ध धर्मका अनुयायी तथा उपासक उपासीका सहभागी थिए । रासस
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्