भैरहवा
नेपाल–भारत सीमा क्षेत्र दशगजामा अलपत्र नेपालीहरुलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गरेका छन् । रुपन्देहीको क्षेत्र नम्बर ५ (२) बाट निर्वा्चित सांसद फखरुद्दीन खानले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेको उल्लेख गर्दै उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गरेका हुन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको असरले भारतका विभिन्न राज्यमा रोजगारी गरिरहेका नेपालीहरु रोजगारी गुमेपछि र ती राज्यले प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपाल फर्कन दवाव दिएकाले ढिला नगरी नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद खानले माग गरेका छन् ।
दशगजामा आइपुगेर एक हप्तादेखि जोखिमपूर्ण ढंगले बस्न वाध्य नेपालीहरुलाई स्वदेश ल्याउनुको विकल्प नभएकाले ढिला नगर्न उनले सरकारसंग आग्रह गरेका छन् । सरकारले सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउन ढिला गर्दा कतिपयले सुरक्षाकर्मीलाई रकम बुझाएर रातको समयमा लुकिछिपी खुला सिमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्ने गरेकाले कोरोना संक्रमण फैलिन सक्ने सांसद खानले औंल्याएका छन् ।
सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अबिलम्ब नेपाल भित्राई सबैलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गर्न र बेरोजगारलाई स्वदेशमै रोजगारी दिन अब बन्ने नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गर्न पनि सांसद खानले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । भारतले दार्चुलामा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको विषय सरकारलाई ६ महिना अगावै थाहा हुँदाहुँदै चुप लागेर बसे उल्लेख गर्दै उनले सडक निर्माण तत्काल रोक्न सरकारले वार्ता र संवादमार्फत कुटनीतिक पहल गर्न पनिे माग गरेका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्