‘किसानलाई दिने सुविधामा प्रतिस्पर्धा भए कृषिमा प्रगति’

‘किसानलाई दिने सुविधामा प्रतिस्पर्धा भए कृषिमा प्रगति’

बुटवल : विदेशबाट फर्किएका युवाहरु उद्यममा लाग्न थालेका छन् । वैदेशिक रोजगारी मात्रै सबथोक हैन भन्ने ठान्ने युवाहरु स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउन थालेका हुन् ।

युवाले मेहनत गरे सफल भइदो रहेछ भन्ने उदाहरण हुन् शुद्धोधन गाउँपालिका ३ रुपन्देहीका प्रकाश खनाल । उनी १० वर्ष मलेसिया बसे। मलेसियाबाट बिदामा घर आउँदा उनलाई गाउँलेले नै चिन्दैनथे। मलेसिया फर्किएपछि घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना बलियो बन्दै गयो।

अन्ततः उनी स्वदेश फर्किए। स्वदेश फर्किएपनि २ वर्षसम्म उनी बेरोजगार भए। गाउँमै केही गरेर भविष्यमा पनि आफ्नै बलबुताले जिन्दगी चलाउनपाए हुन्थ्यो भन्ने तर्कना मनमा खेलिरहेका बेला उनले जुक्ति निकाले–धान खेतीको ठाउँमा तरकारी खेती गर्ने।

‘धान खेतीबाट भनेजस्तो उत्पादन र मूल्य पनि थिएन–उनी भन्छन्–गाउँमा केही खेती त भइरहेको थियो, तर पूर्ण व्यवसायिक बनाएर बजारमा पुग्नेगरी उत्पादन हुन सकेको थिएन, त्यसपछि तरकारी खेतीमै हात हालेँ।’

उनले ३ बिगाहा खेतमा करेला लगाए। करेलाबाट राम्रो आम्दानी भएपछि उनी तरकारी खेतीलाई नै निरन्तरता दिइरहेका छन्।
भन्छन्–करेला खेतीबाट नाफा धेरै त भएन, तर यसले उत्साह थपेको छ।’
वर्षेनी अर्बौंको तरकारी आयात भइरहेको अवस्थामा मेहनत ग¥यो भने स्वदेशमै गज्जबले तरकारी फलाउन र मनग्ये आम्दानी गर्न सकिन्छ भन्नेमा विश्वस्त छन् उनी।

तालिमबिनै मोले जोखिम, करेला बेचेर १४ लाख
विदेशबाट फर्किएका उनी तरकारी खेतीमा पोख्त थिएनन्। परम्परागत खेतीकिसानीको सामान्य अनुभव बटुलेका उनले एकैपटक शुरु गरे करेला खेती। करेला खेती शुरु गर्दा उनले करीब ५५ लाख रुपैयाँ लगानी गरे।
५५ लाख करेला खेतीका लागि हाउजिङ, मल, झिक्रा, पाइपलगायतको निर्माणमा खर्च भयो।
‘म त विदेशबाट भर्खर फर्किएर आएको मान्छे, मसँग तरकारी खेतीको खास अनुभव थिएन, तालिम पनि कहाँ लिने भन्ने भयो,–उनी सुनाउँछन्–तरपनि हरेश खाइन, शुरु गरेँ।’

उनको हिम्मतले पनि हरेश खाएन। उनले धान खेतीबाट भन्दा धेरै आम्दानी गरे करेला खेतीबाट।
‘धान खेतीबाट २५–३० मुरी धान हुन्थ्यो, त्यसको आम्दानी र करेलाबाट भएको आम्दानी तुलना गर्दा करेलाकै आम्दानी राम्रो भयो–उनले भने।
गएको सिजनमा उनले १४ लाखको करेला बेचे। ‘पहिलो पटक भएकाले लगानी एकैपटकमा उठ्ने कुरा त भएन, त्यसका लागि बनाएका संरचनाहरु फेरि पनि काम लागिरहेका छन्, उनी भन्छन्–करेलाबाट ममा उर्जा थपिएको छ।’

उनका अनुसार सामान्यतया एक बिघाहा खेतमा करेला खेती गर्न सरदर ५–७ लाख रुपैयाँ खर्च हुन्छ। करेला लगाएको दुई महिनामा उत्पादन शुरु हुन्छ र तीन महिनासम्म लगातार उत्पादन भइरहन्छ। एक बिघाहा खेतबाट कम्तीमा १५ लाख रुपैयाँको करेला बेच्न सकिने खनाल बताउँछन्।
करेलासँगै काँक्रा र सिमी समेत लगाउन सकिने भएकाले त्यसबाट अतिरिक्त आम्दानी लिन सकिने उनले बताए।

‘जाडो महिना बाहेक अरु महिना जुनसुकै मौसममा करेला खेती गर्न सकिंदो रहेछ, तीन महिनामा एक बिघामा तीन सय क्वीन्टलसम्म फलाउन र ५ देखि ७ लाख कमाउन सकिंदो रहेछ’–उनले भने–‘वर्षमा एक बिघा करेला खेतीबाट कम्तीमा १० लाख कमाई हुन्छ।’

हाल नेपालमा खपत हुने ९० प्रतिशत भन्दा बढी तीते करेला विदेशबाट आयात हुने गरेकाले बजारको खासै समस्या नभएपनि बिचौलियाका कारण समस्या भईरहेको उनको भनाई छ।

तरकारी खेतीमै सर्मपित, प्रदेशकै नमूना किसान बन्ने सपना
नेपालमा तरकारी खेती व्यवसायिक हुन नसक्दा भारतको भर पर्नुपरेको उनलाई राम्रोसँग थाहा छ। भन्छन्–हामीले उत्पादन गरेर बजार धान्न सक्ने हो भने भारतीय तरकारी आयात गर्नैपर्दैन।’

त्यही सोंचलाई विस्तार गर्दै उनले अरु तरकारी पनि लगाएका छन्। काक्रा, टमाटर, खुर्सानी, लौका, सिमी, फर्सी जस्ता मौसमी र बेमौसमी तरकारी उनको खेतमा फलिरहेका छन्।

‘एकैखालको खेती गर्छु भनेर मात्रै नहुँदो रहेछ, बाह्रैमास केही न केही लगाईरहने र त्यसलाई निरन्तरता दिने सोंचमा छु, उनी भन्छन्–यसो भयो भने राम्रो उत्पादन र नाफा पनि निरन्तर आउँछ।’

जिन्दगीको उर्जाशील उमेरको अधिकांश समय विदेशमा बिताएर स्वदेश फिरेका उनको तरकारी उत्पादनमा प्रदेश ५ कै नमूना बन्ने सपना छ।
‘विदेशमा गएर त्यहीँको समृद्धिका लागि दिलोज्यान दिएर लागियो, सकेको मेहनत गरियो, उनले भोगाई सुनाए–तर त्यो समय आफ्नै मुलुकका लागि खर्चिन सकिएन, अब म तरकारीमै आफ्नो पूरा समय दिन्छु, तरकारी खेतीमा प्रदेश ५ लाई नमूना बनाउँछु।’
तरकारीमै भविष्य बनाउने सोंच लिएका उनले १० जनालाई रोजगार दिएका छन्।

बिचौलिया र विदेशी उत्पादनको मार
उनका अनुसार नेपालको बजार सहज छ। तर वास्तविक किसान बजारसम्म पुग्न सकिरहेका छैनन्। भन्छन्–किसानले मरिमेटेर उत्पादन गर्छ, त्यसको नाफा घरै बसीबसी बिचौलियाले कमाउँछन्।
किसानसम्म नाफा पुग्नका लागि बिचौलिया अवरोध भएको उनको ठम्याई छ। ‘किसानले आफ्ना उत्पादन सिधै बजारमा लगेर बेच्न पाए भने अहिलेको तुलनामा किसानको आयस्तर पनि उकासिन्छ र उत्पादन वृद्धि हुन्छ–उनी भन्छन्–

सरकारले दिएन साथ
बजारभरि भारतीय उत्पादन छ। भारतमा किसानलाई दिने अनुदान र नेपालमा किसानलाई दिने अनुदानमा कैयौं गुणा फरक छ।
खनाल भन्छन्–जसरी भारतीय उत्पादन हामीकहाँँ आइरहेको छ, त्यससँग प्रतिस्पर्धा गर्न तर अनुदानमा सरकारले प्रतिस्पर्धा गर्नुप¥यो, अनि किसानले उत्पादनमा प्रतिस्पर्धा गर्छन्।’

सरकारले नारा र भाषणमा किसानका लागि काम गरेको बताइरहेपनि नेपाली किसानका लागि आवश्यक परेअनुसारको साथ नपाएको उनको गुनासो छ।
‘सरकारले नयाँ नयाँ योजना ल्यायौं भनेको त सुनिन्छ, तर किसानलाई के चाहिएको छ र कसरी विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने भन्नेतर्फ सोंचविचार गरेर किसानको पक्षमा योजना ल्याएजस्तो लाग्दैन, उनी भन्छन्–केही छिटफुट, सानातिना अनुदान र ऋण दिएपनि व्यवहारिक हिसाबले झन्झटिला छन्, खास किसानले त्यहाँ पुगेर आफ्नो आवश्यकता पूरा गर्नै सक्दैनन्।’

उनलाई लाग्छ, नेपाली बजारमा आउने विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न र आत्मनिर्भर बनाउन त्यो मुलुकका किसान र नेपाली किसानले पाएको सुविधामा प्रतिस्पर्धा गर्नुपर्छ, अनिमात्रै उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने छ।

सरकारले तरकारी र अन्य कृषि उत्पादन बढाउन भारतले जस्तै मलखाद, बिउबिजन, सिंचाई, टेक्टर खरिद आदिमा भारी मात्रामा अनुदान दिनुपर्ने खनालको माग छ।

‘त्यसो नगर्दासम्म नेपाली किसानले जति प्रयास गरेपनि प्रतिस्पर्र्धा गर्न कठिन हुन्छ र कृषि पेशा दीर्घकालीन हुन सक्दैन’–उनले भने।

प्रकाशित मिति : मंगलबार, मंसिर ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij