भक्तपुर
सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द गरिएको छ। सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको बच्चा जन्माएको करिव आधा घण्टामा मृत्यु भएपछि आज अस्पतालका सबै सेवा बन्द गरिएको हो। सिन्धुपाल्चोक स्थायी घर भएका ती महिला अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ। मास्कसमेत नलगाई अस्पताल आएका ती महिलालाई स्वास्थ्यकर्मीले मास्क लगाउन अनुरोध गर्दा श्वास फेर्न गाह्रो भएकोले नलगाएको बताएको एक स्वास्थ्यकर्मीले जानकारी दिए। मृतक महिलाको कोरोनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। महिलाको शव अस्पतालको प्रसूती वार्डमा नै राखिएको छ। मृतक महिलाले केएमसी अस्पताल सिनामंगलमा नियमित स्वास्थ्य जाँच गर्दै आएको बुझिएको छ। अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमितरुपमा केएमसीमा जाँच गर्दै आएको र उक्त अस्पताल हाल बन्द भएका कारण ती महिला सुत्केरी हुन भक्तपुर अस्पताल आएको बताए। अस्पतालमा मेडिकल सुपरिटेण्डेन डा। सुमित्रा गौतमले मृतक महिलाको स्वास्थ्य परीक्षणको रिपार्ट आउन बाँकी रहेको र रिपोर्ट आइसकेपछि मात्र विस्तृत जानकारी दिने बताइन्। अस्पताल स्रोतका अनुसार मे। सु। गौतम आफैं अहिले सेल्फ क्वारेन्टाइनमा बसेकी छन्।
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्