स्मार्टफोन, ट्याबलगाएतका नयाँ ग्याजेटमध्ये ८५ प्रतिशतभन्दा बढीमा प्रयोग हुने अपरेटिङ सिस्टम हो एन्ड्रोइड । एन्ड्रोइड गुगलको आफ्नो उत्पादन हो । विश्वभरका उपभोक्ताको सजिलोका लागि हरेक वर्ष एन्ड्रोइडको भर्सनहरू अपडेट गरिँदै आइएको छ । हाल पछिल्लो अपेरेटिङ सिस्टम ८ ओरियो बजारमा ल्याएको गुगलले नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड पी घोषणा गरेको छ ।
गुगलको आयोजनामा चलिरहेको डेभलपर्स कन्फ्रेन्समा कम्पनीले नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड पी सार्वजनिक गरेको हो । प्रविधि जगतमा देखिएका नयाँ हार्डवेयर तथा सफ्टवेयरसँग कम्प्याटेबल हुने गरेर कम्पनीले नयाँ सिस्टम विकास गरेको हो ।
गुगलका अनुसार एन्ड्रोइड पी आर्टिफिशियल इन्टेलिजेन्स तथा मेसिन लर्निङलाई मध्यनजर गरेर तयार गरिएको हो । यसको अर्थ हो, अब विश्वमा आउन थालेका एआई ग्याजेटहरूका लागि पूर्व तयारीस्वरुप गुगलले नयाँ सिस्टम ल्याएको हो । अर्थात्, अझै ग्याजेट अपरेटिङ सिस्टममा गुगलले आफूलाई थप मजबुद बनाएको छ ।
गुगलले एन्ड्रोइड पी मल्टीटास्किङका लागि तयार पारेको हो, जसले युजर्सको जेस्चरलाई पत्ता लगाउन सक्दछ । यसमा होम बटन स्लाइड गरेपछि फोनको बीचमा स्विच गर्न सकिने छ । यसका विषेताका बारेमा विभिन्न सञ्चारमाध्यममा आएका खबरका अनुसार यो अपरेटिङ सिस्टममा एडेप्टिभ ब्याट्रि, एडेप्टिभ ब्राइटनेस, एप एक्शन, स्लाइसेस तथा अन्य थप नयाँ विशेषताहरू रहेका छन् । यसमा गुगल टेक्स्ट तथा इमेज लेबलिङ रिकोग्नाइजेशनका लागि मेसिन लर्निङ पनि राखिएको छ ।
गुगलले शुरुवाती चरणमा सीमित फोनहरूमा मात्र नयाँ अपरेटिङ सिस्टम दिने भएको छ । कम्पनीले साओमी एमआइ मिक्स २ एस, नोकिया सेभेन प्लस, ओप्पो आर १५ प्रो, भिभो एक्स २१, वानप्लस सिक्स, सोनी एक्सपेरिया एक्सजेड २ र इसेन्सियल फोन वान स्मार्टफोनमा मात्र गुगलको एन्ड्रोइड पी अपरेटिङ सिस्टम उपलब्ध हुनेछ । अन्य फोनहरूको हकमा भने विस्तारै घोषणा हुनेछ । इन्बिल्ट एआई फिचर भएका नयाँ ग्याजेट प्रयोगकर्ताका लागि थप रोमाञ्चक हुन सक्छ । यसका विशेषताहरू निम्न रहेका छन्–
आर्टिफिसियल इन्टेलीजेन्स
आर्टिफिसियल इन्टेलीजेन्स (एआई) मा मेसिन लर्निङका साथ गुगल हेल्थ केयर सेन्टर तथा हस्पिटल्सका साथ साझेदारी गरेर मेसिन लर्निङ जोडेको जनाएको छ । मेसिन लर्निङका साथ जीमेलमा स्मार्ट कम्पोज फीचर उपलब्ध गराउने छ । प्रयोगकर्ताले डकुमेन्टहरू पिडिएफ भर्सनमा परिवर्तन गर्न सक्ने लगाएतका थप फिचर हुनेछन् ।
नयाँ डिजाइन
गुगलले एन्ड्रोइड पीमा नयाँ सिस्टम नेभिगेसनका साथ यूजर इन्टरफेसलाई आकर्षक बनाएको छ । यसमा क्विक सेटिङलाई रिडिजाइन गरिएको छ भने भोल्यूम कन्ट्रोल, नोटिफिकेसन म्यानेजमेन्ट तथा स्क्रीनशनलाई पनि डिजाइन परिवर्तन गरेको छ ।
एडेप्टिभ ब्राइटनेस
यो फीचरले मेसिन लर्निङको उपयोग गर्दछ । यो फिचरको प्रयोगबाट प्रयोगकर्ताहरूले फरक फरक सेटिङमा आफ्नो स्क्रीनको ब्राइटनेस कस्तो बनाउन चाहन्छन् भन्ने जानकारी लिएर व्यवस्थापन गर्दछ ।
एडेप्टिभ ब्याट्री
यो फीचरले प्रयोगकर्ताद्वारा सबैभन्दा धेरै प्रयोग गर्ने एप्स तथा सर्भिस र विशेषगरि ब्याट्रीको व्यवस्थापन गर्दछ । यो फीचरले ब्याट्री म्यानेज गरेर स्मार्टफोनलाई अधिक समयसम्म चलाउन सहयोग गर्दछ ।
स्लाइसेस
यो फीचरले ती एप्सको बारेमा जानकारी दिन्छ, जसलाई प्रयोगकर्ताले फोनमा अधिक प्रयोग गर्दछ । यो फीचर इन्ट¥याक्टिभ पनि हुनेछ ।
एप एक्शन
एन्ड्रोइड पीमा राखिएको एप एक्सन फीचरले प्रयोगकर्ताले स्मार्टफोनमा कुन काम गर्न लागेको अनुमान गर्न सक्नेछ । कम्पनीको उदाहरण दिँदै भन्यो कि यदि प्रयोगकर्ताले स्मार्टफोनमा हेडफोन लगायो भने यो फीचरले आफसेआफ म्युजिक एप खोल्नेछ र सिधै प्ले लिस्टमा गएर गीत बजाउँछ ।
डिजिटल रिमाइण्डर
यो फीचर विशेषगरी निरन्तर लामो समयसम्म वेबसाइट हेर्ने वा युट्युव जस्ता साइट हेर्नेहरूका लागि राखिएको हो । यो फीचरले प्रयोगकर्तालाई बीच बीचमा ब्रेक लिनको लागि स्मरण गराउँछ ।
नेभिगेशन
नेभिगेशनको सहयोगबाट स्मार्टफोनको क्यामरामार्फत नेभिगेट गर्न सकिनेछ । यो फीचरमा क्यामराको प्रयोगमार्फत तपाईं कहाँ हुनुहुन्छ र कहाँ जानुपर्ने छ भन्ने जानकारी थाहा हुन्छ । यो पनि एआइ फिचरको नयाँ व्यवस्था हो ।
गुगल म्याप
गुगल म्यापमा आर्टिफिशियल इन्टेलिजेन्सलाई जोडिने छ । जसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो लोकेशनको नजिकमा भएको रेष्टुरेन्ट तथा क्याफेहरूको बारेमा जानकारी लिन सक्नेछ । गुगल म्यापमा नयाँ ग्रुप प्लानिङ फीचर पनि आउनेछ । अहिले पनि गुगल म्यापमा यस्ता सूचना दिने गरिएको छ तर अब थप सहज हुनेछ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्