काठमाडौं– आज असार १५ अर्थात धान दिवस ।
मानो रोपेर मुरी फलाउने महिनाको मध्य अर्थात् दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।
कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् ।
यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।
शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।
गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ ।
यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ ।
वि.सं. २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए ।
राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।
२०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।
यसवर्ष कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमकाबीच पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुने भएको छ ।
कृषि विभागले तयार पारेको प्रोटोकल अनुसार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ ।
अघिल्ला वर्षहरुमा एकअर्कामा हिलो छ्यापेर महोत्सव मनाइए पनि यो वर्ष भने हिलो खेल्न तथा छ्याप्न पाइने छैन ।
प्रकाशित मिति : सोमबार, असार १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्