काठमाडौं-पछिल्लो तीन महिनामा बाढी, पहिरो र चट्याङका कारण १८१ जनाको मृत्यु भएको छ । वैशाखदेखियता ९ साउनसम्म १८१ जनाको मृत्यु भएको हो । ५१ जना अझै बेपत्ता छन् ।
विपदमा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।
वैशाखयता पहिराबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् ।
बाढीबाट छ को मृत्यु, सात बेपत्ता र तीन घाइते छन् । चट्याङ लागेर ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।
मनसुन शुरु भएको समय (जेठ ३र्१) पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लिएको थियो । त्यसपछि चट्याङले बढी मानवीय क्षति भएको छ ।
सो अवधिमा बाढी, पहिरा र चट्याङका कारण १४१ जनाको मृत्यु भएकामा पहिराले मात्रै १२६ जनाको ज्यान लियो । बेपत्ता भएका ५१ मध्ये ४४ जना पहिरामै परेका पोखरेलले जानकारी दिए ।
चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो १० वर्षमै मनसुन पछिको उक्त अवधिमा सबैभन्दा बढी पहिराको क्षति भएको पोखरेलले बताए । उनका अनुसार यसपालि भेल पहिराले नसोचेको ठाउँमा ठूलो क्षति बनाएकाले त्यस्ता जोखिम ठाउँमा बस्दा वर्षाका बेला सचेत हुनुपर्ने देखिएको छ ।
मनसुन शुरु भएकै दिन पर्वतमा जेठ ३१ गते नौजना भेल पहिरामा परेर बिते । त्यसपछि पाल्पा, बझाङ, जाजरकोट, कास्की, सिन्धुपाल्चोक, गुल्मी, लमजुङ र म्याग्दीमा ठूला पहिरो खसेर धनजनको ठूलो क्षति भएको हो । यसपालि गत असार २५ देखि २९ सम्म र साउन ४ देखि ६ गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा भएको थियो । रासस
प्रकाशित मिति : शनिबार, साउन १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्