शक्तिशाली अंग मुटु जोगाउनै सकस

शक्तिशाली अंग मुटु जोगाउनै सकस

मुटु । मानिसको मात्र होइन भर्टेब्रेट (ढाड भएका) प्राणीहरूको शरीरको प्रमुख जीवनदायी अंग हो । यसलाई शरीरको इन्जिन भने पनि हुन्छ । मुटुशरीरमा छातीभित्र दुई फोक्सोको बीचमा रहेको हुन्छ । यसलाई एउटा पातलो झिल्लीले घेरेको हुन्छ, जसलाई पेरिकार्डियम भनिन्छ ।

मुटुमा चारवटा भाग हुन्छन्, दुईवटा अउरिकल र दुईवटा भेन्ट्रिकल । मुटुको प्रमुख काम भनेको नै रक्तनली मार्फत्रक्तसंचार प्रणालीमा रगत पम्प गर्ने हो । मुटुको धड्कन एक सेकेन्ड पनि रोकिंदैन । यो दिनरात, बिनाविश्राम, हरपल निरन्तर चलिरहन्छ । छाती भित्र धड्किरहने यो सानो अंगले शिरदेखि पैतालासम्म महत्वपूर्ण प्रभाव पारेको हुन्छ ।

शक्तिशाली अंगः
मुटु शक्तिशाली मांसपेशीले बनेको हुन्छ । यस अंगसम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अंग हुनुपर्छ । सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल २५० देखि ३०० ग्राम जति हुन्छ । तर, यसले एक घण्टामा करिब १४ सय किलोग्राम तौल उठाउन लाग्ने बराबरको शक्ति पैदा गर्छ।

यो शक्ति एउटा सानो खालको कारलाई जमीनबाट १ फुटमाथि उठाउन पर्याप्त हुन्छ।मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्कालाई ३० फिट परसम्म फ्याँक्न सक्दछ।एक दिनमा मुटुले करिब ७ हजार ६ सय लिटर रगत पम्प गर्छ। औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब १९ करोड ५० लाख रगत पम्प गर्ने गर्छ ।

गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ। जबकि त्यो बेलामा भू्रणको करिब १ इन्च मात्र लामो हुन्छ। अझ गर्भाधानको ४ हप्तादेखि नै भू्रणको मुटु पनि धड्कन सुरू भइसकेको हुन्छ ।

सामान्य अवस्थामा एक बयस्क मानिसको मुटु ७४ पटक धड्किन्छ । त्यसो त ६० देखि १०० सम्म मुटुको धड्कनलाई समान्य मानिन्छ । तर मुटुको धड्कन ६० भन्दा कम र १०० भन्दा माथि हुन्छ भने यसले मनमस्तिष्कमा, शरीरमा वा स्वयंम मुटुमा कुनै समस्या भएको संकेत गर्छ ।

मुटुको रोगः
मुटु बलियो हुन्छ, शक्तिशाली हुन्छ । तर पनि विभिन्न कारणले गर्दा मुटु अस्वस्थ हुन सक्दछ । विरामी पर्न सक्दछ ।मुटुसँग सम्बन्धित समस्याहरुलाई मुटुको रोग भन्ने गरिन्छ । आममानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ ।

तर, मुटुका अन्य थुप्रै रोग हुन्छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोगहरु हुने गरेका छन् । यस्ता रोगहरुलाई २ किसिम भागमा बाँड्न सकिन्छ । एउटा जन्मजात, जुन जन्मदै मुटुको रोग बोकेर जन्मने र अर्को चाहि जन्मिसकेपछि हुने मुटु रोग ।

जन्मजात मुटुरोगः
कतिपय बालबालिकालाई जन्मजात मुटुरोग लागेको हुन सक्दछ । यो रोग थोरैलाई मात्र लाग्छ । गर्भधारण गरेको ३ महिनाभित्र आमालाई रुबेला नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ । फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउँछ ।

गर्भधारण गरेको ३ महिनाको अवधिमा महिलाले गर्भकालागि असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्याधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुनजान्छ ।

यसै गरी भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भएमा पनि जन्मजात मुटुरोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औंलाका टुप्पाहरु नीलो हुने, औंलाका टुप्पाहरु बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार रुघाखोकीले सताइराख्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटुरोगका लक्षणहरुहुन् ।

जन्मेपछि हुने रोगः
जन्मिसकेपछि देखा पर्ने मुटु रोगमा बाथ मुटु रोग एक प्रमुख रोग हो । योरोगबाल्यकालमा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिन सक्दछ । सामान्यतः ३ देखि १५ वर्र्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने तथा टन्सिल बढ्ने हुन सक्दछ ।

यसरी घाँटी दुख्ने गरेका बालबालिकालाई एकखाले ज्वरो आउन सक्छ । ज्वरोसँगै हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन् । यो ज्वरोलाई बाथज्वरो भनिन्छ । यसै ज्वरोको कारणपछि गएर मुटुको भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथमुटुको रोग भनिन्छ ।

तर, अधिकांश मुटु रोगजीवनशैलीसँग सम्बन्धित हुन्छन् । जीवनशैलीसँग सम्बन्धित मुटुरोगमा हृदयाघात तथा उच्च रक्तचाप आदि पर्छन् । मुटुरोग मध्य हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिंदै आएको छ ।

हृदयाघात के हो ?
मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ । र, शरीरभर रक्तसञ्चालन गराउँछ ।

मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ ।

तर, यी रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ ।

रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ ।

यो अवस्थालाई हृदयाघात भएको भनिन्छ । हृदयाघात हु“दा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ ।

मुटुरोग मध्य उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात्ब्लड प्रेसर भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमी मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन् । दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गाैलाका रक्तनलीमा असर परे हृदयाघात वा मिर्गौला फेल हुन्छ ।

हार्ट फेल के हो ?
हार्ट फेल पनि मुटुको डरलाग्दो रोग हो । अधिकांश मानिस दम बढ्ने बित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच्छन् । तर, यो आंशिक रुपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुस“ग पनि हुन्छ । यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम भएर जान्छ भने यो मुटुरोग हुन सक्छ ।

मुटु सुन्निएको, मुटुका मांसपेशीहरु कमजोर भएको, मुटुको भल्भ बिग्रिएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ । हार्ट अट्याक र हार्ट फेल फरक–फरक अवस्था हुन् ।

हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको घड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परीवर्तनका कारण मुटुमा देखिने समस्याहरुहुन् ।

कोरोनरी मटुको रोगः
कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो । हृदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ । तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ ।

मुटु रोगका लक्षणः
छातीको बीच भागमा पीडा हुनु, बेचैनी हुनु वा भारीपन महसुस हुनु । श्वास फेर्न कठिनाइ हुनु । धेरै पसिना आउनु । नियमित रुपमा वाकवाक लाग्नु । हात झझमाउने तथा चेतनाबिहिन बन्नु । शरीरको कुनै अंगले काम गर्न छाड्नु । कमजोर यौन गतिविधि हुनु । घुर्ने तथा निन्द्रा असन्तुलन हुनु ।

काध र घाँटीमा दुखाई हुनु। अपच, मुटुमा जलन हुन । बोल्दा कठिनाइ हुनु, जिब्रो लरबरिनु । परिश्रम गर्दा दम बढ्नु । खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घा“टीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो तथा औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन् ।

शारारीक परिश्रम गर्दा वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतीर भएर ढुंगाले थिचेको जस्तो अनुभव हुने र आराम गरेपिछ हराएर जाने लक्षणलाई एन्जाइना भनिन्छ।

कसैकसैलाई भने पहिलो पटक नै असहय तरिकाले छाती दख्ने, देब्रे छातीतिर झनै श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयाघातका लक्षणहरू देखिन्छन्, जस मध्य एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडी नै मृत्यु हुन्छ।

बढ्दो छ मुटुको रोग
विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै अहिले मुटु रोग मानिसको मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटु रोग महामारी कै रूपमा फैलिने भविष्यवाणी गरेको छ ।

विश्व मुटु महासंघका अनुसार मुटु रोगका कारण विश्वभर बर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरू मध्य ८० प्रतिशत भन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् ।

मुटु रोग प्राणघातक भएतापनि ८० प्रतिशत हृदयाघात रोकथाम गर्न सकिन्छ । नेपालमा १० वर्ष यता मुटु रोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ । हाल करीव १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ ।

हाल नेपालमा १८ वर्ष उमेर माथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ । यस्तै स्कुल जाने उमेरका करीव ०.२ प्रतिशतलाई बाथ मुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ ।

उपचारतथा रोकथामः
एक पटक मुटुमा गम्भीर समस्या देखिए जीवनभर त्यसले पीडा दिन सक्दछ । उपचार गरेपछि पनि जीवनभर औषधी खानु पर्ने हुन सक्दछ । जुन निकै महंगो हुन्छ ।

मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पि“दै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ । त्यसैले आफूमा मुटु रोगको समस्या छ कि छैन भनेर बेला बेलामा ईसीजी गरेर हेर्नुपर्छ ।

पहिले पहिले पाका र उमेर बढि भएकालाई लाग्ने भनेर चिनिएको मुटु रोग अहिले साना केटाकेटी र किशोरकिशोरीमा पनि देखिन थालेका छ । त्यसैले परिवारमा कसैलाई मुटु सम्बन्धि रोग छ भने २० वर्षसम्मको उमेरमा मुटुको परीक्षण गर्नुपर्दछ । अन्यथा ३० वर्षको उमेरपछि अनिवार्य एकपटक मुटुको परीक्षण गर्नुपर्दछ ।

मुटुको रोगबाट बच्न धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो र बोसोयुक्त खानेकुरा, फास्टफुड, जंकफुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।शरीरको इन्जिन, मुटु स्वस्थ भएमा मानिसको जीवन नै स्वस्थ हुन्छ ।
(लेखक मनोविद् हुन् ।)

प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij