काठमाण्डाै – नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।
आज बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ज्यान गएको पर्साका एसपी गंगा पन्तले जानकारी दिनुभयो ।
गएको शुक्रबार कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि गएराति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यस्तै झाडापखलाले सिकिस्त भएपछि उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा अस्ति सोमबार ज्यान गुमाएकी पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।
योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको हो । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
अहिलेसम्म ४ लाख ६ हजारको परीक्षण गरिएकोमा २१ हजार ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ हजार २६ जना उपचारपछि निको भएका छन् । ५ हजार ९ सय २५ जना आइसोलेशनमा र १० हजार ४ सय ५२ जना क्वरेन्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्