सचिवालय बैठकमा नबस्ने प्रधानमन्त्री ओलीको संकेत

सचिवालय बैठकमा नबस्ने प्रधानमन्त्री ओलीको संकेत

बैठक दिउँसो १ बजे बस्ने, ओली भन्छन्- ‘यस्ता बैठकको कुनै अर्थ छैन, म व्यस्त छु आउँदिन’

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको बेला सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने भनिएको बैठकमा अध्यक्षद्वयले पेस गरेको छुट्टा छुट्टै प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको सचिवालय बैठकमा यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेकोे लिखित पत्रका सम्बन्धमा अध्यक्षद्वयका साथै अन्य नेताले बोल्ने क्रम सुरु भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक अघि नै नेताहरुबीच अनौपचारिक छलफल र संवादका प्रक्रिया पनि चलिरहनेछन् । दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच सहमति जुट्न सकेको छैन । यही मङ्सिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेको थियो ।

पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवादले नयाँ रुप लिएको छ ।

यसअघि लिखित पत्रमार्फत् एक अर्कालाई आरोपप्रत्यारोप गरेका अध्यक्षद्वयले मंगलबारबाट भनाभन नै सुरु गरेका छन् । बालुवाटारमा मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय भनाभनमा उत्रिएका हुन् । यसले पार्टी विवादको गम्भीर मोडमा पुगेको सचिवालय सदस्यले बताएका छन् । अध्यक्ष ओली आक्रमक रुपमा प्रस्तुत भएपछि जवाफमा कार्यकारी अध्यक्षसहित शीर्ष नेता आक्रोशित बनेका हुन् ।

आजको सचिवालय बैठकमा नबस्ने ओलीको संकेत
दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उपस्थित नहुने भएका छन् । उनले मंगलबारको बैठकबाट बाहिरिने क्रममा बैठकमा उपस्थित हुनुको अर्थ नरहेको बताएका थिए ।

दुई अध्यक्षबीचको विवादमा सचिवालयका बहुमत सदस्यले दाहालको पक्ष लिएपछि अप्ठेरोमा परेका ओली बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए । ‘तपाईंको प्रस्ताव छलफलको विषय हुन सक्दैन । विधि, पद्धति, सहमति केही पनि पालना नगरी र कमिटीको पनि अनुमति नलिई एकल रूपले मनोमानी ढंगले प्रस्ताव ल्याउनुभएको छ,’ ओलीले भनेका थिए– ‘पार्टीलाई फाटो र विभाजनमा लैजान काम गरिरहनुभएको छ । फुट-विभाजनतिरै जाने, सर्वनाशतिरै जाने हो भने यस्ता बैठककोे कुनै आवश्यकता छैन ।

अध्यक्ष नै बैठकमा उपस्थित नहुने भएपछि आजको बैठक बस्ने कि रोक्ने भन्ने अन्योल बढेको छ । यद्यपि कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सदस्य जो जो उपस्थित हुन्छन्, उनीहरु मात्रै बसेर भएपनि बैठक अघि बढाउनु पर्ने पक्षमा छन् ।

प्रकाशित मिति : बुधबार, मंसिर १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij