काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।
शुक्रबार बसेको काङ्ग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
‘सरकारले संवैधानिक परिषद्सम्बन्धी जुन अध्यादेश ल्याएको छ यो संविधानको भावना र मर्मविपरीत छ । यो संविधानको व्यवस्था र भावना, मर्मविपरीत ल्याएको अध्यादेश तत्कालै सरकारले फिर्ता लेओस् । संविधानको व्यवस्थामाथि कुनै खेलवाड नगरोस् । यो स्वीकारयोग्य छैन । फिर्ता हुनुपर्छ,’ उनले भने ।
त्यसैगरी संसद्को अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाँडको भनाइ छ । बैठकले संसद् अधिवेशन अबिलम्ब बोलाउनसमेत माग गरेको बताए ।
उनले भने, ‘अबिलम्ब जनताको समस्याहरूलाई छलफल गर्नका लागि, जनतालाई भरोसा र विश्वास दिलाउनका लागि सरकारको कमी कमजोरीलाई परिमार्जन गर्दै सरकारको क्रियाशिलताका निम्ति सदनको अधिवेशन अबिलम्ब बोलाउनुपर्छ,’
बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रूपमा असफल भएको निष्कर्षसमेत निकालेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको काङ्ग्रेसको ठहर छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेहरूलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्