भैरहवा–धकधई–परासी करिडोरमा ५ वर्षमा ४० अर्बका उद्योग

भैरहवा–धकधई–परासी करिडोरमा ५ वर्षमा ४० अर्बका उद्योग

भैरहवा । पछिल्लो समय रूपन्देही सदरमुकाम भैरहवा–धकधई–परासी सडक खण्ड पश्चिम नेपालकै आकर्षक लगानी गन्तव्य भएको छ । उद्योग व्यवसायमा लगानीका लागि मुलुककै पहिलो रोजाइ बन्दै गरेको रूपन्देही र आसपासका क्षेत्रमा ५ वर्षमै ४० अर्बभन्दा बढीको लगानी भएको छ ।

लगानीकर्ताको चाप बढ्दै गएपछि यो क्षेत्र नयाँ औद्योगिक करिडोरको रूपमा स्थापित भएको छ । यस करिडोरमा करोडदेखि अर्बौसम्म लगानीमा उद्योग स्थापना भएर सञ्चालनमा आइसकेका छन् । न्यूनतम १ करोडभन्दा माथिको लगानीमा साना उद्योग धेरै खुलेका छन् ।

भैरहवा–लुम्बिनी करिडोरमा उद्योग सञ्चालनका लागि बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर क्षेत्रबाट १५ किमी हवाई दूरी (परिधि) क्षेत्र भित्र वातावरणमा प्रदूषण फैलाउने प्रकृतिका कुनै पनि उद्योग स्थापनामा रोक लगाइएको छ ।

सोही कारण उद्योगी व्यवसायीको रोजाइमा भैरहवा–धकधइ– परासी सडक खण्ड नयाँ औद्योगिक करिडोरको रूपमा विकसित हुँदै गएको हो । यो करिडोरमा पछिल्लो ५ वर्षमा ४० अर्बभन्दा बढी लगानी भित्रिएको स्थानीय व्यवसायी बताउँछन् ।

भैरहवा–लुम्बिनी क्षेत्रमा १५ किमिको मापदण्ड, सडक खण्डको पूर्वपश्चिम क्षेत्रमा घर घडेरीका लागि नै जग्गा अति महँगो भएकाले उद्योगलाई जग्गा खरिद गर्न अधिक रकम खर्चिनु पर्ने भएकाले पनि यो नयाँ सडक खण्डमा उद्योग व्यवसाय गर्न लगानीकर्ताहरू आकर्षित भएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा सिद्धार्थ गु्रपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालको भनाइ छ ।

यो करिडोरमा उद्योग स्थापनाका लागि जग्गा उपलब्धता सहज र मूल्य पनि अन्यत्रभन्दा सस्तो भारतबाट कच्चा पदार्थ आयातका लागि सीमा नाका नजिकै रहेकोले पनि सबैको रोजाई बन्दै भैरहवा–धकधइ–परासी सडक खण्ड नयाँ औद्योगिक करिडोरको रूपमा स्थापित हुँदै गएको अग्रवालले बताए । अग्रवालले स्थापना गरेको श्री स्टिल उद्योग यसै करिडोरमा छ र १ महिनाबाट सञ्चालनमा आउनेछ । यो उद्योगमा मात्रै ४ अर्ब बढीको लगानी छ ।

करिडोरमा स्टिल, मैदा, चामल , कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिंक, चाउचाउ, जुत्ता चप्पल, ग्यास, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लास्टिक, सनमाइका, पाइप, एंगल पत्ती ब्लक, कंक्रिटलगायत दर्जनौं उद्योगहरू सञ्चालनमा छन् ।

धकधइ क्षेत्रमा मात्रै स्टिल, मैदा, चामल, कार्पेट, ब्लकलगायतका धेरै उद्योग छन् । रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादवका अनुसार अन्यत्रभन्दा यस क्षेत्रमा औद्योगिक वातावरण राम्रो भएको, उत्पादित सामानहरू पूर्वपश्चिम जताततै पठाउन सजिलो, भारतीय नाका नजिकै जस्ता कारणले उद्योगका लागि उर्वर क्षेत्रका रूपमा विकसित हुँदै गएको बताए ।

“उद्योग खुल्ने क्रम बढे पछि हाम्रो रोहिणी गाउँपालिका कार्यालयले पनि छिटोभन्दा छिटो उद्योग सञ्चालन होस् भनेर सहजीकरण गर्ने गरेका छौं, साथै उद्योग स्थापनामा लाग्ने दस्तुरमा पनि मर्का नपर्ने गरी कायम गरेका छौं, हामीहरू उद्योगमैत्री वातावरण बनाउँदैछांै,” अध्यक्ष यादवले भने ।

यस क्षेत्रमा १ अर्बको लगानीमा ५ तारे सरहको बोधी रेडसन् होटलसमेत सञ्चालनमा आएको ३ वर्ष भइसकेको छ । यसैगरी लुम्बिनी कोइर, श्री स्टिल, सिद्धी विनायक फुड्स, रोहिणी एग्रो, आरती एग्रो, गज्जबको चाउचाउ, वार्सटाइनर बियर, रुसलान भोड्का, वेष्टर्न फ्लोर मिल, बरुण बेभरज तराई प्लान्ट, मिलानो सुज, इन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर, सीएनजी ग्यास उद्योग, एचएच बजाज मोटरसाईकलको प्लान्टलगायत दर्जनौं ठूला तथा साना उद्योग सञ्चालनमा छन् ।

यो उद्योगबाट मात्रै वार्षिक अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने गरेको छ । छोटो समयमै स्थापित करिडोर बन्न सफल यस क्षेत्रमा मुख्य समस्या भनेको विद्युत् नै हो ।

राज्यले उद्योग स्थापना हुने स्थानसम्म पहँुच सडकमार्ग र विद्युतीकरणको व्यवस्था गर्ने भने पनि विद्युत् भने प्रमुख समस्याका रूपमा देखापरेको छ । उद्योग सञ्चालनका लागि अर्बभन्दा बढी वैकल्पिक ऊर्जाका लागि जेनेरेटर खरिदमा खर्च भएको रोहिणी एग्रोका सञ्चालक दिपक पौडेल बताउँछन् ।

“अब यो क्षेत्रमा ३३ केभीएमात्र नभइ १३२ केभीए लाइन नै आवश्यकजस्तो भइसकेको छ,” पौडेलले भने ।

प्रकाशित मिति : आइतबार, पुष ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij