JanataToday.com

Advertisment

SKIP THIS

बुटवलको कृषि मेलामा अन्तरक्रिया

बुटवलको कृषि मेलामा अन्तरक्रिया

 

बुटवल

बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बुटवलमा सञ्चालन गरिएको कृषि मेला २०७८ मा विभिन्न विषयमा कृषि सम्बन्धि अन्तरक्रिया तथा गोष्ठि गरिएको छ ।

यहि चैतको १० गतेदेखि सञ्चालन गरिएको कृषि मेलाको अवसर पारेर कागती खेतीको वर्तमान अवस्था र उन्नत खेती प्रणाली, ताजा तरकारी बजारीकरणको अवस्थाको विषयमा सरोकालवालासंग छलफल तथा कृषि पर्यटनको सम्भावना र चुनौती विषयमा अन्तरक्रिया गोष्ठि कार्यक्रम गरिएको हो ।

 

सम्बन्धित विषयमा छुट्टाछुट्टै भएको कार्यक्रममा कागती खेती सम्बन्धि विज्ञ हरि सुवेदीले यस क्षेत्रको भौगोलिक बनावट, हावापानी लगायतका कारण कागती खेतीको लागि राम्रो सम्भावना देखिएको बताउनु भयो । तर कागती खेती गर्दा कागती जात, विरुवाको प्रकार, र बिरुवाको गुणस्तरमा ध्यान दिन उहाँको सुझाव छ । कागतीको बिरुवाको लागि सबैभन्दा राम्रो पद्धती ग्राफ्टिङ भएको उहाँको भनाई छ ।

 

त्यस्तै ताजा तरकारी बजारीकरणको अवस्थाको विषयमा भएको छलफलमा सरोकारवालाले ताजा तरकारीको बजारीकरण, उत्पादन लागत अनुसारको मुल्य नपाउने, स्टोरको लागि चिस्यान केन्द्र नहुनु, ढवानी लगायतका समस्या रहेको बताएका थिए । किसानले दुःख गरेर उत्पादन गरेपनि सस्तो मुल्यमा भारतबाट आयात हुने तरकारीसंग प्रतिपर्धा गर्न नसक्दा यहाँका किसानलाई मर्का परेको उनीहरुको भनाई छ । त्यस्तैगरी किसानले उत्पादन गर्ने तरकारीको बजारीकरण तथा व्यवस्थापनमा स्थानीय सरकारको भूमिका नै नभएको उनीहरुको गुनासो छ ।

 

ताजा तरकारीका संस्थागत उपभोक्ता होटल व्यवसायीहरुले पनि नियमित आपूर्तिको सुनिश्चितता नभएका कारण प्रत्यक्ष मण्डीकै भर पर्नुपरेको बताएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य जमसेर अली मियाले कृषिको विकास गर्न सक्ने हो भने नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर मात्रै नभएर प्रसस्त निर्यात गर्न सकिने भनाई राख्नुभयो । त्यसको लागि सरकारले कृषिमैत्री नीति बनाउनु पर्ने उहाँको भनाई छ ।

 

त्यस्तै कृषि पर्यटनमा पनि राम्रो सम्भावना देखिएको छ । नेपालको कृषि क्षेत्रलाई सुधार गर्न सक्ने हो भने कृषि पर्यटनको पनि विकास गर्न सकिने र त्यसका माध्यमबाट विदेशी पुँजी भित्र्याउन सकिने उनीहरुको भनाई छ । नेपालको आर्थिक विकासको लागि कृषि र पर्यटन सम्भावना देखिएका क्षेत्र हुन् । कृषि र पर्यटनलाई संगैसंगै अगाडि बढाउन सकियो भने कृषिको पनि विकास हुने र त्यसका माध्यमबाट पर्यटनको पनि प्रवद्र्धन हुने कृषि विकास निर्देशनालय लुम्बिनीका निर्देशक यामनारायण देवकोटाले बताउनु भयो ।

 

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा कृषि मेला सम्पादन समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि पेशामा आश्रीत भएपनि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३६ प्रतिशत मात्रै रहेको बताउनु भयो । उहाँले कृषिमा व्यवसायिक विकास गरि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताउनु भयो । रोजगारीमा समेत कृषि क्षेत्रको उल्लेखनीय योगदान भएपनि उत्पादन एवं उत्पादकत्व ज्यादै न्यून रहेको उहाँको भनाई छ ।

 

संघका कार्यसमिति सदस्य तथा तालिम संयोजक सञ्जय कलवार जयसवालको संयोजनमा भएको कार्यक्रममा वरिष्ठ कृषि अधिकृत अमरराज शर्मा, वाली संरक्षण अधिकृत रामबहादुर खत्री, कृषि प्रसार अधिकृत आशा भण्डारी, कृषि ज्ञान केन्द्रका सन्देश धिताल, कृषि विकास निर्देशनालयका अजय चौधरी तथा कृषक, कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो ।

 

त्यसै अवसरमा जियो कृषि एपको बारेमा समेत जानकारी गराईएको संघकी कार्यसमिति सदस्य तथा कृषि मेला प्रचारप्रसार समितिकी संयोजक जमुना पौडेलले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : सोमबार, चैत्र १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij