विश्वभर विस्थापित हुने मानिसको सङ्ख्या ११ करोड जना नाघेको छ ।  युक्रेन र सुुडान युद्धका कारण लाखौँ मानिसले घर छोड्नुपर्ने अवस्था आएसँगै विश्वभर विस्थापितहरुको सङ्ख्या ११ करोड नाघेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च आयोग (यूनएचसीआर) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्षमात्रै विश्वभर एक करोड ९० लाख मानिस विस्थापित भएका छन् । जेनेभामा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्र सङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले यो तथ्याङ्क निकै ठूलो भएको बताउनुभएको रोयटर्सले जनाएको छ ।

ग्रान्डीले जबरजस्ती विस्थापितका लागि बाध्य पारिनु निन्दनीय रहेको पनि बताउनुभएको छ । विस्थापितमध्ये ३७ दशमलव ५ प्रतिशत अरु देशमा शरण लिन पुगेका प्रतिवेदनमा उल्लेख छ । शरणार्थीको सङ्ख्या बढेसँगै युरोपमा देशहरुले कडा नियम ल्याउन थालेका छन् ।राष्ट्रसङ्घका शरणार्थी मामिला प्रमुख ग्रान्डीले शरणार्थी सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका देशहरु नै त्यसको पालनामा पछि हट्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।