काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्।
आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले तत्काल संसदको अवरोध हटाउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रहसमेत गरे।
देश र जनताको कुरा भएकाले संसद बैठक छिटोभन्दा छिटो सञ्चालन गराउनुपर्ने उनको भनाई थियो। उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद बैठक भने रोक्न नहुने बताए।
नेता कोइरालाले भने, ‘संसद छिटोभन्दा छिटो चल्नुपर्छ। अब पर्सी बैठक बोलाइएको छ। हेरौँ, के गर्नुहुन्छ? यो एमाले, माओवादी र काँग्रेसको कुरै होइन। यो देशको कुरा हो। संसद चल्नुपर्छ। म एउटा सांसद हो नेपाली काँग्रेसको। हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ‚ उहाँहरुले कोअर्डिनेट गर्ने कुरा हो। सरकारले कोअर्डिनेट गर्ने कुरा हो। संसद चलाउनु पर्यो। संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने अनि सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन‚ चल्न दिएन भन्ने। तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौं। यो सरकारले गर्ने काम हो। प्रतिपक्षले गर्ने काम हो। यो नेपाली काँग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि।’
नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरुले अडान लिन नहुने दोहोर्याए।
प्रतिक्रिया दिनुहोस्