काठमाडौं : ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ।
इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ। इ सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने भिषा हो। कोरियाले इ सेभेन भिषा अन्तरगत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने छ।
नेपालले इ सेभेन भिषा खुला गरेमा निजी क्षेत्रका मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन्। इ सेभेन भिषामा पारिश्रमिक तथा सेवा सुविधा निकै राम्रो भएका कारण यो भिसामा जतिसक्दो ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग थप छलफल गरेर अघि बढ्ने तयारी मन्त्रालयको छ। मन्त्रालयका अनुसार अहिले कोरियाले इ सेभेन भिषामार्फत वर्षेनि दश हजार बढी दक्ष नेपाली कामदारको माग गरेको छ।
कोरियाले विशेष गरी इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभररहस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ सेभेन भिषा दिने गरेको छ।
इ सेभेन भिषामा जाने कामदारले परिवार पनिसँगै लैजान पाउने व्यवस्था रहेको छ। यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ।
यो भिषामा न्यूनतम पारिश्रमिक करिब चार लाख नेपाली रूपैयासम्म हुनेछ। यस्तै यो भिषामा अन्य सेवा सुविधासहित बीमा लगायत सुविधा पनि रोजगारदाताले उपलब्ध गराउने व्यवस्था छ।
कोरियाले सन् २०२२ देखि नै प्राविधिक पेशामा काम गर्ने आप्रवासी कामदारहरुको कोटा बढाउने नीति लिएको छ। जसअनुसार पानीजहाज निर्माणका लागि वेल्डर, चित्रकारलगायत व्यवसायिक सिप हासिल गरेका कामदारको कोटा बढाएको हो।
कोरियाले इ सेभेन भिषामा बंगलादेश, फिलिपिन्स लगायत अन्य मुलुकबाट कामदारहरु लैजाने गरेको छ।
प्रकाशित मिति : बिहिबार, माघ १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्