बुटवल -बुटवल उपमहानगरपालिकाकाे उप-प्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम पछिल्लो समय केही प्रभावकारी बन्दै गएकाे पाइएको भने केही कार्यक्रम कार्यक्रममा मात्रै सिमित भएका छन् । केही कार्यक्रमबाट तालिम लिएका अधिकांश महिलाहरूले तालिमलाई व्यवसायिक तरिकाले अगाडि बढाएका छन् । जबसम्म महिला अार्थिकरूपमा सबल बन्दैनन् तबसम्म कुनैपनि हिंसाबाट मुक्त हुन सक्दैनन् भन्ने उदेश्यले उप-प्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएकाे उपमहानगरपालिकाले जनाएको छ । समृद्ध बुटवल सुखी बुटवलबासीकाे नारालाई सार्थक गर्न र बुटवल उपमहानगरपालिकालाई महिलामैत्री उपमहानगरपालिकाकाे रूपमा स्थापित गराउन नगरले साे कार्यक्रमहरू सञ्चालन गरेकाे हाे ।
उपमहानगरले सञ्चालन गरेकाे साे कार्यक्रममा तालिम प्राप्त गरेका अधिकांश महिला व्यवसायिक बनेका छन् । भने कतिपय महिलाहरू विभिन्न कारणले व्यवसायिक हुन सकिरहेका छैनन् । कतिपय तालिम महिलाका लागि सान्दर्भिक छन् भने कतिपय सान्दर्भिक नभएको स्वयम महिलाहरू स्वीकार्छन् ।

कार्यक्रमपश्चात् व्यवसायिक बनेका केही उदाहरणहरू :
बुटवल ३ ज्याेतिनगरकी अाेसिन गुरूङ गत वर्ष बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेकाे लेडिज फेन्सी जुत्ताचप्पल बनाउने तालिममा सहभागी भइन् ।
नगरले प्रदान गरेकाे एक हप्ताको तालिममा तीन प्रकारका डिडाइनमा हातैले जुत्ताचप्पल बनाउन सिकिन् । अाेसिनले अहिले अाफै तीस प्रकारका डिजाइन बनाउन सक्छिन् । उनका तीस प्रकारका डिजाइन अनलाइनबाटै बिक्री गर्न उनलाई भ्याईनभ्याई छ । डिजाइनअनुसार रू तीन सयदेखि रू अाठ सयसम्ममा बिक्री गर्ने उनले हातैले त्यी सामग्री तयार गर्छिन् । उनले उत्पादन गरेका लेडिज फेन्सी चप्पल विदेशसम्म पनि पुग्ने गरेका छन् । उनलाई अावश्यक पर्ने कच्चापदार्थ सबै बुटवलबाट लिन्छिन् ।
उनलाई चाहिने कच्चापदार्थ भनेकाे रबर सिट , इभा , भेलभेट कपडा , , लेटेक्स गम , सुलाेसन अादि हुन् । यि कच्चापदार्थ उनले बुटवलबाटै लिन्छिन् । साेल भने चितवनबाट ल्याउनुपर्छ । उनी भन्छिन् -” चितवनमा पाइने साेल बुटवलकाे भन्दा राम्राे हुन्छ । त्यसैले त्यहीँबाट ल्याउँछु ।” व्यवसायिकरूपमा अघि बढेकी उनलेे विभिन्न समयमा सञ्चालन हुने व्यापारमेलामा समेत अाफुले उत्पादन गरेका सामग्री बिक्रीवितरण गरेकाे बताइन् । यसपाली बुटवलमा सञ्चालन भएकाे मेलाबाट उनले राम्रो अाम्दानी गरेकाे बताउँछिन् । ” मैले उत्पादन गरेका सामग्रीबाट उपभोक्ता पनि सन्तुष्ट छन् ।
मेरा ग्राहकहरूले मैले बनाएका चप्पलहरू मन पराइदिनु भाछ । ” एकजना स्टाफ पनि राखेर मासिक ८००० दिएकी उनले उपमहानगरपालिकाले दिएकाे यस तालिमले अात्मनिर्भर हुन सिकाएको उनकाे भनाइ छ । पहिले गृहिणीमै सिमित उनी तालिमपछि व्यवसायी बनेकी छन् । तालिम मात्रै लिएर नहुने यसका लागि मनभित्रबाटै जाँगर चाहिने उनकाे तर्क छ । अाफ्नाे व्यवसायलाई अझ फराकिलाे बनाउन चाहेकी उनलाई चारवर्षे बच्चाका कारण केही अप्ठ्यारो छ ।
बुटवल ३ कै सानू दर्लामीले व्युटिसियन पेशा गरेकाे १३ वर्ष भयाे । ३८ वर्षिय उनकाे पनि एघार र चार वर्षकाे सानाे बच्चा छ । उपमहानगरपालिकाले गत वर्ष १५ दिनकाे ब्राइडल (बेहुली श्रृङ्गार ) तालिम प्रदान गरेपछि उनकाे व्यवसाय थप मजबुत बनेकाे उनकाे अभिव्यक्ति छ । ” व्यवसाय जति विस्तार गर्नु पर्थ्याे त्यति भएकाे छैन् । बच्चाकाे पनि हेरचाह गर्नुपर्छ त्यसैले साेचे जसरी गर्न सकेकी छैन् । ” उनकाे भनाइ छ । बुटवल ८ की देवकी अधिकारी (निशा शर्मा ) ले गत वर्ष उपमहानगरले दिएकाे हलुका सवारी चालककाे तालिम र हालै पुनर्ताजगी तालिम लिइन् । तालिम लिएकाे पाँच दिनमै उनले अाफैले एउटा गाडी लिइन् । साे गाडीले उनकाे तालिमलाई फलदायी बनाएको छ ।
५० वर्षिय देवकी सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । विभिन्न संघ संगठनमा अावद्ध उनी अाफैले सवारी चलाएर धेरै पटक दाङ्ग पुगेकी छन् । भने बुटवल भैरहवा पनि सवारी लिएरै हिँड्छिन् । उनी भन्छिन् – ” उपमहानगरले दिएकाे तालिमले मलाई अाफू बलियाे हुने बाटाे देखायाे । हातमा सीप भएपछि अाउने दिनमा म व्यवसायिकरूपमा सवारी चलाएरै पनि अाफ्नाे जीवन चलाउन सक्छु । ” हाल उनी व्यवसायिकरूपमा त हाेइन अाफू दक्ष हुन सवारी चलाइरहेकी छन् ।

महिलालाई नपत्याउने परिपाटी :
सवारी चलााउने सन्दर्भमा महिलालाई झट्ट नपत्याउने समस्या छ ।
महिलाहरूले झट्ट सवारी किन्न पनि नसक्ने र सवारी धनीहरूले पनि नपत्याउने समस्याले तालिम लिएका अधिकांश महिला यत्तिकै बस्न बाध्य भएकाे स्वयम उनीहरूले स्वीकारेका छन् । बुटवल १ कि अरूणा श्रेष्ठ रूपन्देहीभित्रै अाफ्नै लागि सवारी लिएर हिँड्छिन् । उनी यतिबेलासम्म व्यवसायिक बन्न सकेकी छैनन् । बुटवल २ कि मिना पाटा पनि अाफ्नै सवारीसाधन नभएको कारण व्यवसायिक बन्न नसकेकी हुन् ।
त्यस्तै बुटवल ६ की गिता थापा पनि अाफ्नै सवारीसाधन नहुँदा र सवारी धनीहरूले विश्वास नगर्दा व्यवसायिक बन्न सकिनन् ।
तालिममै समस्या :
साे कार्यक्रमअन्तर्गत प्रदान गरिएको बुटिक तालिममा पनि समस्या रहेकाे छ । यस तालिम लिएका अधिकांशले बिचमै छाेडेका छन् । केहीले भने अाफ्नाे लागि काम चलाउमा मात्रै सिमित बनाएकाे भेटिएको हाे । बुटिक तालिम पूरा गर्नका लागि पनि बडाे धाैधाै छ । यस तालिममा स्वयम् महिलामा समस्या रहेकाे छ ।
बुटिककाे लागि अाँखाले बढी जाेड दिनु पर्ने भएकाले अाँखा नै कमजोर हुने कारण धेरैले यसलाई उपमहानगरपालिकाकाे साेँचअनुसार अगाडि बढाउन नसकेका हुन् । बुटिक गर्दा अाँखाले बढी जाेड दिनुपर्दा अाँखाका कारण टाउकाे दुख्ने गरेकाे महिलाहरू बताउँछन् । बुटवल ९ की सीता थापाले दुई दिनमै तालिम छाेडिन् । बुटवल ३ कि रेश्मा कुमारी अाचार्य , बुटवल ११ कि यमकला घिमिरेलगायतले बिचमै तालिम छाेडे । भने बुटवल १० कि सुमित्रा थापाकाे सामान्य अाफ्नाे लागि मात्रै तालिम सिमित भएकाे छ ।
बुटवल १५ सेमलारकी पार्वती पाैडेलले टेलरिङ्ग पेशा पनि गरिरहेकाे र बुटिकलाई पनि सामान्यरूपमा अघि बढाएको बताइन् । बुटवल उपमहानगरपालिकाले नगरलाई महिलामैत्री उपमहानगरपालिकाकाे रूपमा स्थापित गराउने उदेश्यले स्थानीय सरकार सञ्चालन ऐन , २०७४ काे दफा १०२ काे (२) बमोजिम उपप्रमुख उद्यमशीलता कार्यक्रम सञ्चालन कार्यविधि २०७५ भनी जारी गरेकाे छ । यसरी कार्यविधि नै जारी गरी नगरले विभिन्न समयमा विभिन्न तालिम र कार्यक्रम सञ्चालन गरेकाे छ ।

चालू अार्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमहरू :
उपमहानगरपालिकाले चालु अार्थिक वर्षमा तीन अाेटा अन्तरक्रिया गाेष्ठी गरेकाे महिला बालबालिका शाखा प्रमुख तारा भुषालले बताइन् ।
भुषालका अनुसार तीन दिने व्यवसाय विस्तार तथा वृद्धि तालिम , वडा नम्बर १४ का २० जनालाई तीन महिने अाधारभूत सिलाईकटाई तालिम प्रदान गरेकाे जनाइन् । त्यसैगरी गत वर्ष तालिम लिएका २० जनालाई हलुका सवारी चालक पुनर्ताजगी तालिम , लेडिज फेन्सी जुत्ता चप्पल बनाउने तालिम , २५ जनालाई बुटिक तलिम प्रदान गरिएकाे छ । त्यस्तै अाधारभूत व्युटिसियन तालिम लिएर व्यवसाय सञ्चालन गरेका ५० जनालाई १५ दिनकाे ब्राइडल (बेहुली श्रृङ्गार ) तालिम पनि दिइएकाे छ । साथै नगरले एकपटक अध्ययन अवलोकन भ्रमण पनि गराएको उल्लेख छ ।
साथै चालू अार्थिक वर्षमै फेसन डिजाइनिङ र बच्चाकाे ब्लाडकेट र बच्चाकै दाैरा सुरवाल सेट बनाउने बेहुलीले लगाउने मखमलकाे चप्पल बनाउने तालिम सञ्चालनकाे तयारीमा रहेकाे उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले हलुका सवारी चालक पुनर्ताजगी तालिम उनीहरूकाे मागकै अाधारमा दिइएको बताइन् । पहिले सिकेकाहरूले सवारी अनुमतिपत्र (लाइसेन्स) लिनका लागि साे तालिमकाे माग गरेकाले साे तालिम दिएको बताएकी छन् । भने तालिम लिएकाहरू विभिन्न कारणले व्यवसायिक बन्न नसकेकाे स्वयम् उपप्रमुखकाे स्वीकार छ ।
तर अन्य तालिममा अधिकांश महिला व्यवसायिक बनेकाे उनकाे ठहर छ । उपप्रमुख अर्याल भन्छिन् -” कतिपय कार्यक्रम अघिल्लो कार्यकालमा भए । हाल पुनर्ताजगी भनेर यसपाली तालिम दियाैँ । कतिपय नयाँ छन् । तर अब अाउने दिनमा एकदमै साेचविचार र अावश्यकताका अाधारमा दिन्छाैँ । अब तालिम दिँदा जुन तालिम लिएर व्यवसायिक बन्न सहज हुन्छ साेही तालिम दिन्छाैँ । अबका दिनमा तालिमलाई साँच्चिकै व्यवहारिक बनाउँछाैँ । ” विक्रम सम्वत २०७८ को जनगणनाअनुसार यहाँको कूल जनसंख्या १,९४,३३५ मध्य ९९,४८६ जना महिला छन् । तर उपमहानगरपालिकाभित्र कति महिलाहरू व्यवसायिक बनेका छन् भन्ने कुनै तथ्यांक भेटिदैन ।

प्रकाशित मिति : सोमबार, चैत्र १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्