बुटवल – बुटवल ९ की सीता थापा पार्लरमा काम गर्छीन । पार्लरमै काम गरे पनि ब्राइडल मेकप चाँहि सिकेकी थिइनन् । नगरपालिकाले दिएकाे अाधारभूत तालिमपछि आफूले डिप्लोमा र एड्भान्स पनि सिकेर प्रोफेसनल ब्राइडल मेकप गर्न सक्ने भएको बताईन् । सीता भन्छिन् -“हामीले सिकेको समय र अहिलेकाे समय धेरै फरक छ । पहिलेकाे सिकेका कतिपय कुरा अहिले मिल्दैन ।
समयसँगै हाम्रो प्रोफेसनमा पनि धेरै कुरामा परिवर्तन आएको छ । ” मनसुन ब्युटी पार्लरकी सञ्चालक यमुना श्रेष्ठले पहिले हातले गर्ने काम अहिले मेसिनको प्रयोगबाट गरिने बताउँछिन् । उनी भन्छिन् -” पहिलेको र अहिलेको चोइस पनि फरक छ । म आफैँलाई अपग्रेट गराउन पनि यो तालिमले धेरै सहयोग पुर्याएको छ । ” अागामी दिनमा अझ नयाँ – नयाँ तालिमहरू नेल , हाइड्राे फेसियल अादि सञ्चालन गर्न उनले अाग्रह गरिन् । यता प्लेजर व्युटिपार्लरकी सञ्चालक सानु दर्लामी विगत १३ वर्ष देखि बुटवल बहुमुखी पथमा यो व्यवसायमा तल्लिन छन् ।
बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ब्राइडल मेकप तालिममा सहभागी उनको अनुभव भने केही फरक छ । निरन्तर यहि पेशामा लागेका हाम्रोलागि तालिममा नयाँ पनि खासै केही नभएको उनले बताइन । जुन विशेष कोर्स थियो त्यसको बेसिक मात्र भएको तर त्याे आफुले वर्षाैँदेखि गर्दै अाइरहेकाेले खासै फलदायी नभएको बताउँछिन् । नयाँका लागि र मेकअप कहिल्यै नसिकेकाहरूकाे लागि मात्रै नयाँ भएको उनले बताइन् । आगामी दिनमा नगरले स्तरअनुसारको तालिम दिनु आवश्यक रहेको उनकाे धारणा छ । यि माथि प्रस्तुत गरिएका उदाहरण व्युटिसियन पेशाका हुन् । बुटवल उपमहानगरपालिकाले महिलाहरूलाई अात्मनिर्भर बनाउन र कुनैपनि हिंसामा नपरून् भनेर नगरभित्रका महिलाहरूलाई विभिन्न किसिमका तालिम दिएकाे नगरले जनाएको छ ।
उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम भनेर नगरले महिलाका लागि अावश्यक तालिम प्रदान गरेकाे हाे । त्याे अन्तर्गत जुत्ताचप्पल बनाउने तालिम लिएकी ओसिन गुरुङ पनि एक हुन् । उनी श्रीमान र एक छोरीसहित बुटवल उपमहानगरपालिका ३ ज्योतीनगरमा बस्छिन् । गृहिणीमै सिमित ओसिनमा केही गर्नु पर्छ भन्ने हुट हुटि थियो । उनले उपप्रमुख महिला उधमशीलता विकास कार्यक्रमबारे थाहा पाइन् । उपमहानगरपालिकाले सञ्चालन गरेको जुत्ता चप्पल बनाउने तालिमले उनलाई आकर्षित मात्र गरेन उद्यमी बन्ने चाहाना समेत जगाईदियो । उनले नगरपालिकाले प्रदान गरेको एक हप्ताको तालिममा हातले ३ प्रकारको जुत्ता चप्पल बनाउन सिकिन् ।
अहिले आफैँ तीस प्रकारका डिजाइनमा जुत्ता चप्पल बनाउन सक्छिन् उनी । बजारको लागि उनलाई कुनै चिन्ता छैन् । उनले बनाएका जुत्ता चप्पल अहिले अनलाइनकै माध्यमबाट देशभित्रै र विदेशसम्म पुगेका छ्न् । तीन सयदेखि आठ सयमा बिक्री हुने लेडिज फेन्सी चप्पल उनले हातैले बनाउँछिन् । यसका लागि चाहिने कच्चापदार्थ उनले धेरै जसो बुटवलबाटै र केही चितवनबाट ल्याउने गरेकाे उनले बताइन् । उनलाई बजारको समेत अभाव छैन् । अाफूले उत्पादन गरेका सामग्री कहाँ बेचाैँ भन्ने चिन्ता छैन् ।
यसबाट आफू सन्तुष्ट रहेको उनी बताउँछिन् । मेरा ग्राहकहरूले मैले बनाएका चप्पलहरू मन पराइदिनुभाछ । एकजना स्टाफ पनि राखेर मासिक ८००० दिएकी उनले उपमहानगरपालिकाले दिएको यस तालिमले आत्मनिर्भर हुन सिकाएको बताउँछिन् । याे मात्र हाेइन नगरले साे कार्यक्रमअन्तर्गत नगरकै महिला दिदीबहिनीहरूका लागि हलुका सवारी चालक तालिम पनि दिएकाे छ । पहिलाे कार्यकालअन्तर्गत तालिम लिएकाहरूलाई हाल साेहि तालिम दिइएको महिला बालबालिका शाखा प्रमुख तारा भुषालले बताइन् ।
एकल महिलाको हकहितका लागि २०७१ सालबाट निरन्तर काम गर्दै आएकी बुटवल १ कि अरुणा श्रेष्ठ हाल वडा नम्बर १ को एकल महिला समन्वय सञ्जालकोअध्यक्ष पनि हुन् । एकल महिलाहरुको लागि विभिन्न ठाउँमा हिँडिरहनु पर्ने भएकाले सधै अरुलाई गुहार्न गुहार्नु पर्ने उनकाे बाध्यता थियाे । तर नगरले दिएको तालिममा सहभागी भई अघिल्लो पटकको तालिममा दक्ष बन्न नसकेकी उनी दाेस्राे पटककाे पुनर्ताजगी तालिमपछि भने दक्ष बनिन् । पुनर्ताजगी तालिमले उनी गाडी गुडाउन सकेको उनले बताइन् ।
निमर्ला पाण्डे वडा नम्बर ८ मा बस्छिन् । उनी पनि गृहणी हुन् । उमेरले ५० पुगेकी उनी पनि हलुका सवारी चालक तालिम लिएर आफूमा आत्मबिश्वास बढेको र आफनो गाडी किनेर आफै गाडी चलाउने योजना रहेको बताइन् । सुरुको सिकाई शून्यजस्तै थियो । पछिल्लो पटक सिकाउने प्रशिक्षकहरु एकदमै सरल र सहयोगी , झिँजो नमान्ने भएकाले पनि आफुहरुले पछिल्लो पटक बल्ल राम्रोसँग सिक्न सकेको बताइन् । अघिल्लो कार्यकालको तालिममा सिकाउने गाडी बिग्रिरहँदा समस्या थियो ।
गाडी पनि एउटै भएकाेले सिक्न गाह्राे भएकाे उनकाे अनुभव छ । पहिलेकाे तालिममा समस्या भोग्नु परेको थियो तर अहिले पुनर्ताजगी तालिममा राम्रो कन्डिसनको गाडी र धेरै गाडी भएकाले सिक्न सहज भएको पनि उनले बताइन् । ड्रीम गार्मेन्टमा कार्यरत चन्द्र कुमारी थापा वडा नम्बर ११ कि बासिन्दा हुन् । जटिल परिस्थितिमा पनि सहयोगको लागि हात नभेटिदै गर्दा पनि आफू वडासँगको सहकार्यमा रहेर सेवा गर्दा यातयातायातमा देखिएको समस्या सम्झिँदै उनले भनिन् – ” कोरोना महामारीको समयमा लकडाउनमा एम्बुलेन्स चलाउने चालकहरुको अभावमा भोग्नुपरेको समस्या देख्दा आफूले लाइसेन्स निकालेर एम्बुलेन्स चलाउन प्रेरित गरेकोले आफू काममा जानू भन्दा पहिले बिहानैको समयमा तालिम सेन्टर पुग्ने गरेको उनले बताईन ।
उपप्रमुख महिला उधमशीलता विकास कार्यक्रमअन्तर्गतकाे बुटिक तालिम लिएका अधिकांशले बिचमै छोडेका छन् । अाधारभूत सिलाई कटाई तालिम लिएकाहरूलाई दिइएको साे तालिममा केहीले भने आफ्नो लागि काम चलाउमा मात्रै सिमित बनाएको भेटिएको हो । बुटिक तालिम पूरा गर्नका लागि पनि बडो धौधौ छ । यस तालिममा स्वयम् महिलामा समस्या रहेको छ । बुटिक गर्दा आँखाले बढी जोड दिनु पर्ने भएकाले आँखा नै कमजोर हुने कारण धेरैले यसलाई उपमहानगरपालिकाको सोँचअनुसार अगाडि बढाउन सकेनन् । बुटिक गर्दा आँखाले बढी जोड दिनुपर्दा आँखाका कारण टाउको दुख्ने गरेको महिलाहरू बताउँछन् ।
बुटवल ९ की सीता थापाले दुई दिनमै तालिम छोडेकाे बताइन् । बुटवल ३ कि रेश्मा कुमारी आचार्य , बुटवल ११ कि यमकला घिमिरेलगायतले बिचमै तालिम छोडेकाे बताए । भने बुटवल १० कि सुमित्रा थापाको सामान्य आफ्नो लागि मात्रै तालिम सिमित भएको छ । जबसम्म महिला आर्थिकरूपमा सबल बन्दैनन् तबसम्म कुनैपनि हिंसाबाट मुक्त हुन सक्दैनन् भन्ने उदेश्यले उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा तीन ओटा अन्तरक्रिया गोष्ठी गरेको महिला बालबालिका शाखा प्रमुख तारा भुषालले बताइन् । भुषालका अनुसार तीन दिने व्यवसाय विस्तार तथा वृद्धि तालिम , वडा नम्बर १४ का २० जनालाई तीन महिने आधारभूत सिलाईकटाई तालिम प्रदान गरेको जनाइन् । त्यसैगरी गत वर्ष तालिम लिएका २० जनालाई हलुका सवारी चालक पुनर्ताजगी तालिम , लेडिज फेन्सी जुत्ता चप्पल बनाउने तालिम , २५ जनालाई बुटिक तलिम प्रदान गरिएको छ । नगरले एकपटक अध्ययन अवलोकन भ्रमण पनि गराएको छ ।
साथै आधारभूत व्युटिसियन तालिम लिएर व्यवसाय सञ्चालन गरेका ५० जनालाई १५ दिनको ब्राइडल बेहुली श्रृङ्गार तालिम पनि दिएको छ । साथै चालू आर्थिक वर्षमै फेसन डिजाइनिङ र बच्चाको ब्लाडकेट र बच्चाकै दौरा सुरवाल सेट बनाउने , बेहुलीले लगाउने मखमलको चप्पल बनाउने तालिम सञ्चालनको तयारीमा रहेको उपमहानगरले जनाएको छ । २०७८ मा बुटवल उप महानगरपालिकाले संचालन गरेको हलुका सवारी चालक तालिममा सहभागीहरु मध्य २० जनालाई हलुका सवारी चालक पुनर्ताजगी तालिम २०८० साल १ महिना ५ गते पुर्न १५ दिनको पुर्न ताजगी तालिम दिइएको थियो।
उप महानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले हलुका सवारी चालक पुनर्ताजगी तालिम उनीहरूको मागकै आधारमा दिइएको बताइन् । पहिले सिकेकाहरूले सवारी अनुमतिपत्र लाइसेन्स लिनका लागि सो तालिमको माग गरेकाले सो तालिम दिएको बताएकी छिन । जबसम्म महिला आर्थिकरूपमा सबल बन्दैनन् तबसम्म कुनैपनि हिंसाबाट मुक्त हुन सक्दैनन् भन्ने उदेश्यले उप प्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
समृद्ध बुटवल सुखी बुटवलबासीको नारालाई सार्थक गर्न र बुटवल उपमहानगरपालिकालाई महिलामैत्री उपमहानगरपालिकाको रूपमा स्थापित गराउन नगरले सो कार्यक्रमहरू सञ्चालन गरेको हो । बुटवल उपमहानगरपालिकाले नगरलाई महिलामैत्री उपमहानगरपालिकाको रूपमा स्थापित गराउने उदेश्यले स्थानीय सरकार सञ्चालन ऐन , २०७४ काे दफा १०२ काे (२) बमोजिम उपप्रमुख उद्यमशीलता कार्यक्रम सञ्चालन कार्यविधि २०७५ जारी गरेको छ ।
यसरी कार्यविधि नै जारी गरी नगरले विभिन्न समयमा विभिन्न तालिम र कार्यक्रम सञ्चालन गरेको छ । तालिममा सहभागी अधिकांश महिला व्यवसायिक बनेको उपप्रमुखको भनाई रहेको छ । उपप्रमुख अर्याल भन्छिन् कतिपय कार्यक्रम अघिल्लो कार्यकालमा भएको तालिम लाई अहिले पुनर्ताजगी भनेर तालिम दियौँ । कतिपय नयाँ छन् । तर अब आउने दिनमा एकदमै सोचविचार र आवश्यकताका आधारमा दिन्छौँ । अब तालिम दिँदा जुन तालिम लिएर व्यवसायिक बन्न सहज हुन्छ सोही तालिम दिन्छौँ । अबका दिनमा तालिमलाई साँच्चिकै व्यवहारिक बनाउँछौँ । ” विक्रम सम्वत २०७८ को जनगणनाअनुसार यहाँको कूल जनसंख्या १,९४,३३५ मध्य ९९,४८६ जना महिला छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्