सफा बधशाला, स्वच्छ माछामासु

सफा बधशाला, स्वच्छ माछामासु

बुटवलमा मापदण्ड अनुसारका माछामासु बिक्री वितरण हुने

बुटवल-केहि वर्ष अगाडिसम्म बुटवलको इँट्टाभट्टा र पुरानो बसपार्क पछाडि पुग्दा दुर्गन्धले मुख छोप्नु पर्ने अवस्था थियो । यो क्षेत्रमा मासुका लागि कुखुरा, खसीबोका, बंगुर, राँगाको बधशाला जस्तै थियो । त्यतिबेला यो क्षेत्रमा दैनिक तीनसयको हाराहारीमा खसीबोका काटिन्थ्यो भने १५ देखि २० टन हाराहारी कुखुरा, दुईहजार किलो माछा र त्यतिकै परिमाणमा राँगा र बंगुरको मासुको किनबेच हुन्थ्यो । तीव्ररुपमा जनसंख्याको बसोबास बढ्दै गएपछि यो क्षेत्रमा माछामासुको कारोबार पनि निकै बढेको छ ।

तर, विगतमा बुटवलमा पशुबधको लागि कुनै निश्चित स्थान नतोकिएको वा बधशालाको व्यवस्था नगरिएको कारण एकातिर व्यवसायीले तिनाउ नदी किनार , मासु पसलको बाहिर र खुल्ला वा सार्वजनिक स्थानमै पशुबध गर्थे, जसको कारण मानिसले स्वस्थ माछामासु खान पाउँदैन थिए भने अर्कोतिर माछामासुको राम्रो व्यवस्थापन नगरिएका कारण बजार र बस्तीमा समेत निकै प्रदुषण बढेका कारण स्थानीयबासीमा नकारात्मक प्रभाव परेको थियो । त्यसैले मानिसहरु यो क्षेत्रमा हिँडडुल गर्न समेत मन पराउँदैनथे ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मोतिपुरका भावना थापा मासुको पारखी हुन् । स्थानीय फ्रेस हाउसबाट मासु लगेर खाएपछि परिवारका सदस्य बिरामी परेपछि जथाभावी काटेको र बेचेको मासु खान नहुने रहेछ भन्ने लाग्यो । त्यसपछि उनले जता पयो त्यतैबाट मासु किन्ने र खाने गर्न छोडेकी छन् । उनी भन्छिन्, ‘स्थानीय फ्रेस हाउसबाट ल्याएको मासु खाएपछि म र परिवार बिरामी प¥यौं ।

सबैजनालाई झाडा पखालाले सतायो ।’ हुन पनि बुटवलका यी क्षेत्रमा माछामासुको बिक्रीवितरण देख्दासमेत खान मन नलाग्ने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मासु काटेकै देखेर खान मन लाग्दैन, यहाँ न सरसफाइ छ न त व्यवस्थापन नै छ । साना भाँडामा राखेर बाटैमा माछामासु बिक्री हुन्थ्यो, त्यस्तो दृश्य हेर्दै माछामासु दुषित् भएको प्रष्टै हुन्थ्यो ।’ बुटवलमा भावनाजस्तै धेरै उपभोक्ताले ताजा र सफा गुणस्तरीय मासु खान नपाएको गुनासो गर्दै आएका थिए । तर अहिले समय फेरिएको छ । बुटवल उपमहानगरपालिकाले बधशालाको निर्माण गरेर जनताको सफा र ताजा माछामासु खाने सपना पुरा गर्ने भएको छ ।

बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरमा दुई विगाघा तीनकट्ठा क्षेत्रफलमा बधशाला निर्माण गरेर सञ्चालन गर्दैछ । बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचको सम्झौतामा उक्त वधशाला सञ्चालन सुरु गर्न लागिएको हो । अब उपभोक्ताले सडकपेटी, मुख्यबजारका खुल्ला स्थान र मापदण्ड पूरा नभएका ठाउँबाट मासु किनेर खानुपर्ने अवस्थाको अन्त्य हुने छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय भन्छन्, ‘सार्वजनिक निजी साझेदारीमा यो बधशाला सञ्चालनमा ल्याइएको हो । अब जनताले मापदण्ड पूरा भएको माछामासु उपभोग गर्न पाउने छन् ।’

सार्वजनिक, निजी, सहकारी उत्पादकबीचको साझेदारी अवधारणाबमोजिम बधशालालाई व्यवस्थितरुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने छ ।

 बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ । सोही कानुनका आधारमा पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिनेछ । यसरी मापदण्डको प्रयोग गर्नुका साथै मासु बिक्री गर्न इजाजत पत्र लिनु पर्नेजस्ता कानूनी व्यवस्था गरिने छ ।

नगर प्रमुख खेलराज पाण्डेयले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार र स्वास्थ्यलाई ध्यानमा राखेर बधशाला सञ्चालन हुन लागेकाले सबै नगरबासीले बधशालामा बध गरेको मासु उपभोग गर्न आग्रह गरे।
उनले कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयले बताए।
उनले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रुपमा स्थापित गर्नका लागि बधशालाले थप मदत पुर्‍याउने बताउँदै बधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने बताए।
बधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित हुने र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताए।
उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका कतिपय पशु बधस्थल र मासु पसलहरु अत्यन्तै दुर्गन्धित रहेको बताउँदै बधशाला सञ्चालनपछि उपभोक्ताले हानिकारक मासु उपभोग गर्न नपर्ने बताइन्। उनले बधशाला सञ्चालनका बारेमा कतिपय पक्षबाट असन्तुष्टि आएपनि बधशाला सञ्चालन हुने र कानुनबमोजिम अन्य क्षेत्रलाई नियमन गर्ने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवल उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारका पशु बधशाला, मासु सम्बन्धि कानुनबमोजिम बधशाला सञ्चालनको तयारीमा रहेको बताए। उनले कानुनबमोजिम बधशाला सञ्चालन हुने हुँदा सबै मासु व्यवसायीले नियमअनुसार बधशालामा लगेर बध गरी प्रशोधन गरेको मासु मात्रै बिक्री गर्नुपर्ने बताए।
बधशाला सञ्चालनमा आएपछि बुटवलबासीले अन्तरराष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने बधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी उत्पादन भएको स्वस्थकर मासु उपभोग गर्न पाउने उनले बताए।

मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका उमेश आचार्यले बधशाला सञ्चालनका लागि आवश्यक उपकरण जडान भइरहेको र पूरा हुनेवित्तिकै सञ्चालन गर्ने बताए। उनले बुटवल क्षेत्रका सबै मासु व्यवसायी र खशीबोका पाल्ने किसानहरुलाई साथमा लिएर बधशाला सञ्चालन गर्ने बताए।

मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ।
५ वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले बताए।
पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको खनालले बताए।

बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन्।
जसअनुसार बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही हुनेछ।
बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ।
विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ। बुटवल उपमहानगरपालिका १० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको छ।

यता बधशालामा पशु बध गर्दा लाग्ने रकम बढी भएको भन्दै केहि मासु व्यवसायीले असन्तुष्टि जनाएका छन् । बधशालामा पशु बध गरेबापत हाल प्रतिगोटा रू १००० रकम तोकिएको छ । यो रकम मासु व्यवसायीको लागि बढी भएकोले यसमा सहुलियत गर्न  मासु व्यवसायीको माग छ ।

मासु व्यवसायी संघका अध्यक्ष बिशाल थापाले बुटवल उपमहानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योलता टुंगाएर मात्रै बधशाला सञ्चालन गर्न आग्रह गरे।उनले व्यवसायी संग नगरपालिकाले निरन्तर छलफल गरेर अगाडी बढ्नुपर्ने धारणा राखे ।

 सहुलियत गर्न का लागि नगरले व्यवसायीसँग छलफल पनि गरिरहेको राजश्व शाखाका उपनिर्देशक डोलराज पौडेलले बताए । उनी भन्छन् , उपभोक्ताले स्वस्थ मासु उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो ।

त्यसैले मासु व्यवसायी ढिलोचाँडो बधशालामा आउनै पर्छ । यदि व्यवसायी नआएको खण्डमा बधशालाबाहेक अन्य ठाउँमा बध गर्न पाइँदैन । बधशालामा बध गरिएको मासु बधशाला निर्माण गर्ने ठेकेदारलाई नै बिक्रीकेन्द्र सञ्चालन गर्ने अनुमति दिएका छौँ त्यहीँबाट मासु बिक्री हुन्छ ।  पौडेलले थप्छन् ‘ बधशालामा पशु बध गरी बिक्री केन्द्रले सम्बन्धित पसलसम्म फ्रि होम डेलिभरिसमेत गर्नेछ । उपभोक्ताको अधिकार त सुरक्षित गर्नु पर्यो नि ।’उप निर्देशक पौडेलले व्यवसायीलाई बधशामा आउन आग्रह गर्दै व्यवसायी नआएमा बिक्री केन्द्रबाट स्वस्थ मासु बिक्री गरिने बताए ।

पशुपंक्षी विकास शाखाका झविन्द्र बञ्जाडे मासु पसल मापदण्डअनुसार सञ्चालन हुनुपर्ने र मापदण्डमा नआए कारबाहीको दायरामा ल्याइने बताउँछन् । उनका अनुसार पशु बधशाला तथा मासुसम्बन्धी संघ, प्रदेश र स्थानीय कानूनअनुसार बुटवलमा कार्यान्वयन हुनेछ ।
यसैका लागि २२ करोड १३ लाख ३५ हजारको लागतमा बधशाला निर्माण गरिएको बताए । जनप्रतिनिधिको चासो र सरोकारका कारण गुरुयोजनाका साथ अब व्यवस्थित बधशाला संचालनमा आउन लागेको हो ।

निर्माण भएको बधशाला क्षेत्रमा खसी–बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचारकक्ष, बधशालामा खटिनेका लागि प्राथमिक उपचारकक्ष, सुरक्षाकक्ष, फोहर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ।

बधशाला पूर्ण रूपमा सञ्चालनमा आउँदा बजारको मागअनुसार एक हजार खसीबोका खपत हुने क्षमताको रहने छ।

यस्तै यसमा हरेक दिन दुई सय ५० खसीबोका चिस्यान गर्न सकिने, एक लाख २५ हजार लिटर फोहर पानी प्रतिदिन प्रशोधन हुने र प्रतिदिन दुई दशमलव पाँच मेट्रिक टन क्षमताको बायो डाइजेस्टर सञ्चालनमा आउने प्राविधिक प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : शनिबार, बैशाख २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij