नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै पारित गर्ने सरकारको तयारी

नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै पारित गर्ने सरकारको तयारी

काठमाण्डौ – प्रतिनिधिसभा र राष्ट्रियसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुँदैछ । सरकारले सदनमा पेस गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।

संसदीय समितिको कार्यादेशलाई लिएर सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा सदनको अवरोधकाबीच सरकारले नीति तथा कार्यक्रममाथि छलफल गर्न लागेको हो । सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समितिको मागसहित संसद् अवरुद्ध गर्दै आएको छ ।

समितिको क्षेत्राधिकारमा सहमति जुट्न नसकेपछि आजको बैठकमा पनि कांग्रेससहित विपक्षी दलहरुको अवरोध कायमै रहने सम्भावना छ । सरकारले विपक्षीहरूको अवरोधकाबीच नीति तथा कार्यक्रममा छलफल चलाएर पारित गर्ने तयारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधले सदनमा पेस हुन सकेको थिएन । अवरोधबीच गएको ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै सभामा पेस गर्नुभएको थियो ।

आज संसद बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरु छलफलमा जुटेका छन् । हिजो बसेको कार्यदलको बैठकमा सत्तापक्षले संकटग्रस्त सहकारीमा छानबिन गर्ने गरी कार्यादेश बनाउन सकिने तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेर जान नसकिने अडान कायम राखेको छ । कांग्रेसले भने गृहमन्त्री लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान दोहोर्याएको छ । 

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij