रूपन्देहीमा मानव मलमूत्रबाट प्राङ्गारिक मल उत्पादन सुरु : स्थानीय सरकार र सर्वसाधारणमा चासो कम :

रूपन्देहीमा मानव मलमूत्रबाट प्राङ्गारिक मल उत्पादन सुरु : स्थानीय सरकार र सर्वसाधारणमा चासो कम :

मानव मलमूत्र सबैलाई घृणा लाग्छ । यही मानव मलमूत्रले घरका शौचालय भरिँदा मानिसलाई बडो चिन्ताको विषय बन्छ । कहाँ छन् शौचालय खाली गराउने सेनेटरी खोज्न हैरान हुन्छ । त्यो पनि समयमा नअाइदिँदा अत्यन्तै गाह्रो पर्छ। तर विगत २५ वर्षदेखि मानव मलमूत्रकाे व्यवस्थापन गर्दै अाएका रूपन्देहीका सेनेटरी व्यवसायीहरुबाट सञ्चालित बुटवल सेनेटरी प्रालिले भने निजी लगानीमा मानव मलमूत्रको व्यवस्थापन गर्दै केही प्रतिफल पाउने अाशाले प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन सुरु गरेका छन् ।

पृष्ठभूमि :
सेनेटरीका अध्यक्ष यमबहादुर थापाका अनुसार २०५६ सालबाटै बुटवल उपमहानगरपालिकाकाे शिवनगर सामुदायिक वनको सुखौरा खोलामा खुल्लारूपमा मानव मलमूत्र फाल्ने काम भैरहेको थियो।२०५६ सालबाट २०७८ सालसम्म खुल्ला अव्यवस्थितरूपमा सुखौरा खोलामा शौचालयजन्य फोहोर फ्याँक्दा प्रति गाडी मासिक रु ५००० हजार रकम शिवनगर सामुदायिक वनलाई रोयल्टी तिरेर डम्पिङ गर्ने गरेकाे तर देश खुल्ला दिशामुक्त घोषणा भएसँगै त्यसरी मानव मलमूत्र डम्पिङ गर्दा दुईपटकसम्म अख्तियारमा मुद्दा परेकाे उनले बताए । थापाले भने – ” त्यसरी मुद्दा परिसकेपछि अव्यवस्थितरूपमा फ्याँक्न दिँदैनौँ भन्दै शिवनगर सामुदायिक वनले एक हप्ताभित्रै विकल्प खोज्न हामीलाई अाग्रह गर्याे । हामी व्यवसायी पनि राज्यको निर्णयप्रति सहमत हुँदै व्यवस्थितरूपले व्यवसाय सञ्चालन गर्ने निर्णयमा पुग्याैँ र हालको अवस्थामा आइपुगेका छाैँ । तर साे स्थानमा अझैपनि केही व्यवसायीले पुरानै तरिकाले खुल्लारुपमा फोहोर फाल्दै आएका छन् । तर सम्बन्धित निकाय आँखा चिम्लेर बसिरहेकाे थापा बताउँछन् । उनी भन्छन् – ”  त्यसपछि हामी करिब अाधा दर्जन सामुदायिक वनमा चाहर्यौ तर कुनैपनि सामुदायिक वनले जग्गा उपलब्ध गराई सहकार्य गर्न चाहेनन् । ”

बुटवल उपमहानगरपालिकाका तत्कालीन नगरप्रमुख शिवराज सुवेदीको कार्यकालमा व्यवसायीहरुले नगरपालिकाबाट जग्गा उपलब्ध गरिदिनुहोस् । हामी नगरबासीको घरायसी शौचालयजन्य फोहोर व्यवस्थित किसिमले व्यवस्थापन गर्छौं भन्दा तत्कालिन नगरपालिकाको नेत्तृत्वबाट कुनै सुनुवाई नभएको उपाध्यक्ष राहुल पन्थीले बताए । उनले भने – ” त्यसरी जमिन उपलब्ध नभएपछि रामनगर सामुदायिक वनको हाइटेन्सनमुनि खेर गैरहेको मानव बस्तीदेखि २ कि.मि टाढा रहेको जमिनमा प्राङ्गारिक मल उत्पादन गर्ने प्रस्ताव राख्याैँ । हाम्राे प्रस्तावमा रामनगर सामुदायिक वन सहकार्य गर्न मञ्जुर भएपछि काम अगाडि बढाएका हौँ । ”
संलग्नता :
सेनेटरी व्यवसायमा अावद्ध ७ जना सेनेटरी व्यवसायीले मिलेर यो कम्पनी सुरू गरेका छन् । समस्या नै समस्या रहेको सेनेटरी व्यवसायमा समस्यामा नै समाधान भेटिन्छ भन्दै २०७८ सालमा बुटवल सेनेटरी प्रालिको नाममा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेर रामनगर सामुदायिक वनसँग सहकार्य गर्ने सहमति गरेको उनले बताए । पन्थी भन्छन्  – ” पहिले खाल्टे कम्पोष्टका लागि साेँच बनाएका थियौँ। तर जमिन पर्याप्त भएन । त्यसका लागि पाँचवटा खाल्डा बनायौँ। हाम्रो त्यो सोंच पूरा हुन सकेन । त्यसपछि मेसिनरी प्रविधिबाट काम सुरु भयो।”

हालसम्म करिब २ कराेड रकम खर्च भैसकेको कम्पनीमा १७ जना कर्मचारीले रोजगारी प्राप्त गरेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका तिलोत्तमा, सैनामैनासँगै देवदह नगरपालिकाका विभिन्न ठाउँबाट सङ्कलन भएको मानव मलमूत्र व्यवस्थापन गरिरहेको यो सम्वेदनशील विषयमा पनि सर्वसाधारणले सेनेटरीका सवारीलाई समयसमयमा बाटोमा हिँड्न नदिई अवरोध गर्नेजस्ता विभिन्न दुख दिने गरेको व्यवसायीको गुनासो छ । “शौचालय भरिएर खाली गर्न जाँदा अाउँदा स्थानीयले दुख दिन्थे । ” सचिव धर्मेन्द्र राना बताउँछन् । यस्ताले सम्वेदनशील विषयमा स्थानीय सरकारले पनि चासो दिन जरुरी छ ।” रानाको भनाइ हो यो।

समस्या :

बुटवल सेनेटरी प्रालिकाे नाममा २०७८ बाट प्राङ्गारिक मल बनाउन सुरु गरेकाे कम्पनीले हाल भने उत्पादन सुरु गरिसकेको छ । हालसम्म २ कराेड रकम खर्च गरेका व्यवसायीहरू स्थानीय सरकारले चासो नदेखाएको र कुनै किसिमको हौसला प्रोत्साहन नगरेका कारण अब कम्पनी बन्द गर्ने अवस्थामा पुगिसकेका छन् । कर्मचारी व्यवस्थापन गर्न उनीहरूलाई हम्मेहम्मे छ । अब लगानी थप गर्न रकम छैन् । उत्पादन भई बजारीकरणका लागि तयारी अवस्थामा रहेको मल बिक्रीवितरणको लागि बजारीकरण गर्ने काममा स्थानीय सरकार , सरोकारवालाबाट व्यवसायीलाई हौसला र प्रोप्त्साहन हुनुपर्नेमा हताेत्साही बनाउने मात्रै प्रवृत्ति भएका छन् । स्थानीय सरकार र सर्वसाधारणबाट केही सहयोग भएन । ” उपाध्यक्ष राहुल पन्थीको दुखेसो छ । कम्पनीले प्राङ्गारिक मलका लागि कच्चापदार्थ दैनिक करिब १५ गाडी दिसाजन्य फोहर ,एक ट्रली गाईको गाेबर , आधा ट्रली कुखुराको सुली सङ्कलन गरिरहेकाे छ भने  आवश्यकताअनुसार ईएम प्रयोग गरी दैनिक करिब १ टन प्राङ्गारिक मल उत्पादन गरिरहेकाे छ ।
” स्थानीय सरकारले गर्नुपर्ने काम हामीले गरेका छौँ तर स्थानीय सरकार नै हामीप्रति बेखबर छ । पटकपटक स्थानीय तहका प्रमुखहरूसँग छलफल गर्यौं तर कुनै चासो भएन् । कुनै पनि किसिमको निष्कर्ष निस्किएन ।” सदस्य राजकुमार श्रेष्ठले सुनाउँछन् ।

” उत्पादन प्रशस्तै मात्रामा भएको छ तर बजारीकरणमा भने हामी जान सकेका छैनौँ । ” अर्का सदस्य अशोक नेपालीले बताए । सर्वसाधारणले विदेशबाट अायातित रसायनिक मल प्रयाेग गर्ने तर स्थानीयस्तरमा दिसाजन्य फोहोरकाे व्यवस्थापन गर्दै स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन भएकाे प्राङ्गारिक मललाई भने स्थान नदिएको बेवास्ता गरेको व्यवसायी बताउँछन् ।

यस मलकाे के छ त फाइदा ?

माटाको लागि याे मल रसायनिक मलभन्दा कैयौं गुणा फाइदाजनक छ । यसले माटाको उर्वरा शक्तिलाई घट्न दिँदैन । रसायनिक मल प्रयाेग गर्दाकाे समय मात्र राम्रो हुने र प्रयाेग नगर्दा माटोलाई खराब बनाउँछ भने उब्जाउमा पनि कमि अाउँछ । तर प्राङ्गारिक मलको राम्रो पक्ष भनेको पहिलाे कुरा त यो आफैंमा प्राङ्गारिक मल भएकाे र यसबाट उत्पदित सम्पूर्ण बालीहरु अर्गानिक हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्छ । यसले माटोको उर्वरा शक्ति बढाउँदै माटाेलाई हल्का र खुकुलो बनाउँछ ।

यस मलमा पाइने तत्वहरू :

यस मलमा माटाेका लागि अावश्यक पर्ने विभिन्न प्रकारका पोषक तत्वहरू पाइने कम्पनीका प्राविधिकसमेत रहेका अध्यक्ष यमबहादुर थापाले जनाएका छन् । सरकारी मापदण्डअनुसार अर्गानिक कार्वन अधिकतम २० प्रतिशत , नाइट्रोजन न्युनतम १ प्रतिशत , फस्फोरस न्युनतम ०.५ प्रतिशत , पोटास न्युनतम १.० प्रतिशत , पिएच ६ देखि ८ प्रतिशत तोकेको छ तर याे प्राङ्गारिक मलमा लुम्बिनी एग्रो इन्भार्नमेन्ट ल्याब प्रालिको ल्याब परिक्षणको रिपोर्टअनुसार अर्गानिक कार्वन १५.८ प्रतिशत , नाइट्रोजन २.२० प्रतिशत , फस्फोरस ३.४५ प्रतिशत , पोटास १.८५ प्रतिशत , पिएच ६.६ भएको प्राविधिक थापा बताउँछन् ।

स्थानीय सरकारको दायित्व :

कम्पनीले मल प्रशस्तै मात्रामा उत्पादन गरेकाे छ । तर बजारीकरणमा भने समस्या छ । कम्पनीकाे
उत्पादित मल यत्तिकै स्टक गरेर राख्नुपर्ने बाध्यता छ ।
बजारीकरणका लागि स्थानीय सर्वसाधारण र स्थानीय तहहरूले सहयोग गर्न सकेका छैनन् । विदेशबाट अायातित रसायनिक मललाई बन्देज गरेर प्राङ्गारिक मललाई प्राेत्साहन गर्ने गरी जनचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको उनीहरू बताउँछन् । स्थानीय सरकारले अायातित रसायनिक मललाई बन्देज गरेमा स्वतह कृषकहरूले कम्पाेष्ट मल प्रयाेग गर्ने उनीहरूकाे दावी छ । फाेहरमैला सबैकाे टाउकाे दुखाइकाे विषय बनिरहँदा मानव मलमूत्रकाे व्यवस्थापन गर्दै यस प्रकारको मल उत्पादन हुनु गाैरवकाे विषय हाे । तर यसप्रति कसैकाे ध्यान जान सकेन ।
यसरी स्थानीय तहले सहयाेग गरेमा कृषकलाई प्रशस्तै मल उपलब्ध गराउने उनीहरूले प्रतिवद्धता जनाएका छन् । तर पटकपटक भेटेर छलफल गर्दासमेत स्थानीय सरकारले यसप्रति पटक्कै चासाे नदिएको व्यवसायीकाे अाराेप छ ।

निजी लगानीमा युवाहरू जोस्सिएर विभिन्न प्रकृतिका कम्पनी दर्ता गर्ने क्रम छ । जति मात्रामा कम्पनी सञ्चालन भएका छन् । त्यति नै मात्रामा बन्द हुने क्रम पनि बढिरहेको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij