सिद्धार्थ क्रिकेट रंगशालाको लागि केही गर्छु : खेलकुदमन्त्री चौधरी

सिद्धार्थ क्रिकेट रंगशालाको लागि केही गर्छु : खेलकुदमन्त्री चौधरी

भैरहवा,
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा सिद्धार्थ क्रिकेट रंगशालाको लागि केही न केही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले खेलकुदमा बढी भन्दा बढी लगानी गर्नुपर्नेमा जोड दिए । आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालाको अवलोकन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले युवा तथा खेलकुदमा जति लगानी गर्नुपर्ने हो त्यति पक्कै गर्न नसकेको बताए । उनले भने, ‘खेलकुद मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषदबाट एउटा पनि बहुवर्षिय योजना छैन । त्यसकारण बहुवर्षिय योजनाका लागि एकपटक फेरी डीपीआर पठाउनुस् । एउटा खुसीको कुरा यही ठाउँको अर्थमन्त्री हुनुहुन्छ । हामीले फाइल पठाउने हो, बजेट अर्थ मन्त्रालयले दिन्छ । आगामी वर्षमा सिद्धार्थ क्रिकेट रंगशालाका लागि बजेट आउने म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।’

उनले खेलकुदको विकास गरौं भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रीपरिषदको बैठकबाटै कीर्तिपर क्रिकेट रंगशालाको स्तरोन्निति गरेर सुविधासम्पन्न गराउने निर्णय गर्नुभएको बताए । नेपालमा राम्रो खेलकुद मैदानको आवश्यकता रहेकोमा उनले जोड दिए ।

मन्त्री चौधरीले खेलाडीहरुलाई रोजगारी, उनीहरुको परिवारलाई शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्ने र यसको उपायबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैठकमा कुरा राखिसकेको बताए । उनले समयमै बजेट खर्च गर्न नसक्नु कमजोर पक्ष रहेको उल्लेख गरे । पुँजीगत खर्च धेरै भन्दा धेरै गर्नुपर्ने उनको भनाइ छ ।

कुल बजेटको शुन्य दशमलव ५ प्रतिशत अर्थात सबैभन्दा कम बजेट युवा तथा खेलकुद मन्त्रालयकै रहेको मन्त्री चौधरीले बताए । ‘मैले जिम्मेवारी सम्हालेको मन्त्रालयमा साढे ३ अर्ब बजेट छ । त्यो भन्दा धेरै नगरपालिकामै बजेट हुन्छ । मन्त्रालयमा कुल बजेटको कम्तीमा १ प्रतिशत बजेट पुर्‍याउन सके खेलकुद क्षेत्रमा अझै काम गर्न सकिने उनले बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खाँले सिद्धार्थ क्रिकेट रंगशालालाई सुविधासम्पन्न बनाउनुपर्ने र यसतर्फ सरकारले ध्यान दिनैपर्ने माग गरे ।

नेपाल क्रिकेट संघ ९क्यान० का पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले रुपन्देही सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने जिल्ला भएको बताए । उनले भने, ‘क्रिकेटमा यति धेरै सम्भावना भएको जिल्लालाई बजेटबाट विमुख गराउनुहुँदैन । यहाँ धेरै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्न सकिन्छ ।’

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले रंगशालालाई आवश्यक पर्ने आधारभूत आवश्यकता, उपकरण, संरचनाका लागि खेलकुद मन्त्रीसँग आग्रह गरिएको बताए । उनले आउँदा वर्षमा सिद्धार्थ रंगशालाका लागि बजेट विनियोजन हुने आश्वासन पाइएको बताए ।

अध्यक्ष थापाले रुपन्देही क्यानकै मेरुदण्डको रुपमा रहेको र यो जिल्ला खेलाडी, प्राविधिक र अम्पायर उत्पादनमा पनि एक नम्बर रहेको दावी गरे । ‘सिद्धार्थनगर नगरपालिकाले सहयोग गरेको छ । अब संघीय सरकारले पनि सहयोग गर्नुपर्छ, ’उनले भने ।

 

प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij