काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्।
बिहीबार चारदिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
उनले चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पारे। उनले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताए।
उनले भने, ‘अस्ति नै देखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ। ऋण लिनेबारे कुनै कुरा पनि चलेन। मैले यहाँ बोलेकै थिएँ। छलफल पनि भएन। हामीले यसपल्ट बिआरआई अन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गरेका छौँ। हरेक परियोजना अन्तर्गत हामी छुट्टै छलफल, छुट्टै एग्रिमेण्टहरु गर्छौं र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा। अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्नेकुरा धेरैपल्ट भनिया छ। अब धेरै दोहो¥याउनु नपरोस् भन्ने मेरो आग्रह छ। ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन। फेरि ऋणको कुरा कहाँबाट आउँछ यो। सधैँ ऋण, ऋण ऋण किन सारंगी बजेको छ ऋणको। होइन भनेर पटक पटक भनेका छौँ। ऋणसँग यो सरोकार राख्दैन।’
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए।
उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने बताए। उनले बहुमत नआएको खण्डमा गठबन्धनबाट नयाँ सरकार बन्ने बताए।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको पनि बताए।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्