बुटवलमा औद्योगिक व्यापार मेला सुरु

बुटवलमा औद्योगिक व्यापार मेला सुरु

लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो ।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरुको चिन्ताप्रति सरकार गम्भिर रहेको भन्दै व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यवसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको भनाई राख्नुभयो ।
मन्त्री खड्काले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण मुलुक अस्थिर भएको र लगानीको वातावरण समेत विग्रिएको अवस्थालाई मध्येनजर गरी दुई ठूला दल मिलेर सरकार बनाएको बताउँदै यो सरकार पूरा अवधि रहने र राजनीतिक स्थिरता पनि कायम भई लगानीको वातावरण बन्ने विश्वास दिलाउनु भयो ।
उर्जामन्त्री खड्काले वर्तमान सरकार बनेपछि दश वर्ष भित्रमा २८ हजार मेघावाट विद्युत उत्पादन गर्ने र १६ हजार मेघावाट विद्युत निर्यात गर्ने योजना अगाडि बढाईएको जानकारी गराउनु भयो । यो सरकार बनेपछि वंगलादेशमा विद्युत निर्यात गर्ने कार्य सुरु गर्नुको साथै भारतमा समेत विद्युत व्यापार विस्तार भई व्यापार घाटा कमि गरिएको जानकारी गराउनु भयो । विद्युतमा ट्रंक लाईन र डेडिकेटेड लाईनमा भएको विवाद अहिलेको नभई दश वर्षदेखि थाति रहेको विषयलाई अहिले आएर उचालिएको भन्दै उहाँले महशुल बक्यौता उठाउनकै लागि लाईन काट्ने कुरा उचिन नभएको भनाई राख्नुभयो ।
त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसावले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन संघीय सरकारसंगै प्रदेश सरकार पनि लागि परेको बताउनु भयो । उहाँले प्रदेशको विकास र प्रदेशमा औद्योगिक विकासका लागि सरकारले नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने नीति लिईएको बताउनु भयो । उहाँले नीजि क्षेत्रबाट सञ्चालन हुने मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यहाँका उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै ति समस्या समाधानका लागि पालिकाबाट हुन सक्ने कुरा पालिकाबाट समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले साझा समस्या समाधानका लागि साझा एजेण्डा बनाएर अगाडि बढाउनु पर्नेमा पनि जोड दिनुभयो । उहाँले बजारको सौन्दर्यकरण र विद्युतीय सुरक्षाका लागि समेत बुटवलको मुख्य राजमार्ग क्षेत्रमा भूमिगत विद्युतीकरणको व्यवस्था मिलाउन उर्जामन्त्री खड्कासंग माग गर्नुभयो ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा बुटवल उद्योग वाणिव्य संघले औद्योगिक प्रदर्शनी गरेको थियो । यो २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बटुवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा मेला आयोजना गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले दुई ठूला दलको समिकरणमा सरकार बनेपछि स्थायित्व हुन्छ र लगानीको वातावरण बन्छ भन्ने आशा गरिएपनि अहिलेसम्म त्यस्ता वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले देशमा लगानीको वातावरण नबन्दा युवाहरुको विदेश पलायन भईरहेको भन्दै त्यसलाई रोक्नेगरी सरकारले कदम चाल्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ, एमाले रुपन्देहीका अध्यक्ष यज्ञप्रसाद गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक टंकप्रसाद गैरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् । १६ दिनसम्म सञ्चालन गरिने मेलामा ५ लाख बढीले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशष्ो महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेकाछन् । त्यसैगरी दुवई फिस टनेल सहितको वालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम हुनेछन् ।
मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, व्यटि फियर, टिकटक लगायतका प्रतियोगिता गरिने छ । त्यसैगरी ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसाद उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराउनु भयो । मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैया टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाईएको पनि उहाँले जानकारी गराउनु भयो । 

प्रकाशित मिति : बुधबार, पुष ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij