तुलसीपुर । सामान्यतया एउटा कक्षामा कति जना निरिक्षक हुन्छन् ? जतिसुकै ठूलो स्तरको भएपनि १ या २ जना । तर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को नगर स्तरिय परीक्षामा ५ जना निरिक्षक एकै कोठामा निरिक्षण गरिरहेको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ ।
विद्यार्थीमा रहेको परीक्षाको त्रास हटाउन, अनियमितता नगर्न र उनीहरुलाई आवश्यक सामग्री उपलब्ध गराउनका लागि व्यवस्था गरिएका निरीक्षकहरु एकै कोठामा पाँच जना हुँदा विद्यार्थीलाई कस्तो असर पर्ला ? सहजै अनुमान लगाउन सकिन्छ ।
परीक्षा चलिरहेका बेला परीक्षा हलभित्रै तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति संयोजक देवराज विश्वकर्मा, सदस्य दिपक कुमाल, नेपाल शिक्षक संघका प्रदेश सचिव भागवत पौडेल, लगायतका व्यक्तिहरु तस्वीरमा रहेको देखिन्छ । विद्यार्थीहरुलाई अनुगमनका लागि गएका उनीहरुले पोज दिएर फोटो खिचेको देखिन्छ । ‘विद्यार्थीलाई अनुगमन गरेको हो कि फोटो सेसन गरेको हो वुझ्न सकिएन,’ एक अभिभावकले भने ।
कक्षामा आएर फेसबुकमा राख्नका लागि तस्विर खिच्दा आफूहरुलाई लेख्न असर गर्ने गरेको एक विद्यार्थीले बताए । ‘कक्षामा आएर कस्तरी राम्रो फोटो आउँछ भनेर पोज मिलाई-मिलाई खिच्नुहुन्छ अनि अफ्ठेरो भइहाल्छ नि,’ उनले थपे ।
विद्यार्थीहरुलाई शान्त वातावरणमा परीक्षामा समावेश गर्नुको साटो उनीहरुलाई मानसिक दबाव दिने गरिएको पाइएको छ । शिक्षा समितिले बनाएको अनुगमन समितिका सदस्यहरुले जथाभावी रुपमा तस्विर मोहका कारण विद्यार्थीहरुलाई परीक्षामा अवरोध परेपछि अहिले सामाजिक सञ्जालमा समेत यसको विरोध हुन थालेको छ ।
विद्यार्थीहरुलाई कक्षाकोठामा मोबाइल लैजान नपाइने भन्ने अनि आफैँले लगेर फोटो खिच्नुले विद्यार्थीमा मानसिक असर पर्ने पूर्व प्रधानाध्यापक माधवप्रसाद लामिछानेले बताए । लामो समय केन्द्राध्यक्षको अनुभव समेत सम्हालेका लामिछाने विद्यार्थीलाई उपयुक्त वातावरण मिलाइदिनेले आफै वातावरण विगार्न नहुन तर्क गर्छन् ।
कार्यविधि मिचेर अनुगमन समिति
तुलसीपुर उपमहानगरपालिकाले आधारभुत तह उत्तीर्ण परीक्षा कार्यविधि २०७४ ले तोकेको नभएर बाहिरी क्षेत्रका व्यक्ति समेत अनुगमन समितिमा रहेका छन् ।
कार्यविधिले सामाजिक विकास समितिका संयोजकलाई अनुगमन समितिको सदस्य तोकेको भए पनि आफुलाई जानकारी नदिएको संयोजक तथा १० नम्बर वडाध्यक्ष कुमार लामिछानेले बताए । औपचारिक रुपमा आफुलाई कुनै जानकारी नआएको बताउँदै भने, ‘मनलाग्ने हिसावले अनुगमन गरेको र तोकिएका मान्छेहरुलाई वास्ता गरिएन । भत्ताको लोभमा जथाभावी अनुगमनमा गएको देखिन्छ, यसरी कार्यविधि नै मिच्न कहाँ पाइन्छ ?’
अनुगमनकर्ताले डिस्टर्ब गरे : परीक्षार्थी
अनुगमनकर्ताले भत्तासहितको आफ्नो घुम्ने पालो पुर्याएर दायित्व पूरा गरे पनि परीक्षार्थी र अभिभावकले यसलाई उत्ताउलोपन भनेका छन् । नर्सरीदेखि कक्षा आठसम्मको दौरानमा कहिल्यै अनुहार नदेखेका मान्छेहरु घरीघरी परीक्षा चलिरहेका बेला कोठाभित्र पस्दा परीक्षार्थीले डिस्टर्ब भएको बताएका छन् ।
एकोहोरो रुपमा परीक्षामा बसेर विषय अनुसारको उत्तरपुस्तिकामा उत्तर लेखिरहेका बेला अनुगमनका नाममा गएका नचिनेका मान्छेहरुले सोधपुछ गर्ने, उठाउने , चेकजाँच गर्ने लगायतका कामले परीक्षालाई मर्या्दित र शान्त पार्नु भन्दा पनि अमर्यादित काम गर्ने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
विशिष्ट व्यक्ति भन्नेहरु हुल बाँधेर जाने गरेको उनीहरुले बताए । ‘परीक्षा दिइरहेका हुन्छौ एकदमै ठूलो मान्छे बनेर आएका अनुगमनकर्ताहरु के छ नानी यहाँ, भनेर कापी पल्टाउने , प्रवेश पत्र हेर्ने र अलमल्याउने काम गर्छन्’, गुरुजजर माविमा परीक्षा दिएर फर्किदै गरेकी एक छात्राले भनिन् ।
निरिक्षकले कक्षामा हेर्ने मात्रै तर वोल्न नहुने तर्क राख्छन् विद्यालय निरिक्षक मुकुन्द रिजाल । नयाँ अनुहार देख्दा विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास हुने भएकाले सकभर झ्याल या ढोकाबाट मात्रै हेर्नुपर्ने रिजालले बताए । ‘निरिक्षकले विद्यार्थीहरुलाई उत्प्रेरणा दिने काम गर्नुपर्दछ तर हामी कहाँ डराउन दिने मात्रै काम भएको छ,’ रिजालले भने ।
यता अभिभावकहरुले अनुगमनको शैलीले परीक्षालाई मर्यादित नबनाउने बताएका छन् । वर्षदिनको पढाईमा एकपटक पनि कक्षामा नआउने व्यक्तिहरु परीक्षामा सुटेटबुटेट भएर जानु राम्रो काम नभएको नरबहादुर डाँगीले बताए ।
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्