भैरहवा, रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड भने पहिलोपटक आयोजना भएको हो ।
सन् २००७ र २००९ मा खेलेका पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको हो । सोमबार सिद्धार्थ क्रिकेट मैदान, भैरहवामा भएको खेलमा सन् २००९ को लेजेण्ड महिला टिम ५ विकेटले विजयी भएको छ । जितका लागि पाएको ८३ रनको लक्ष्य सन् २००९ टिमले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै जित निकाल्यो । उसको जितमा सरु पुनले ४१ र शोभा आलले १४ रनको योगदान गरिन् । बलिङमा सन् २००७ टिमका सुस्मिता चौधरी र निरा राजउपाध्यायले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सन् २००७ को टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनको सामान्य योगफल बनाएको थियो । उक्त टिमका लागि निरा राजउपाध्यायले २३ तथा मधु थापा र नेरी थापा मगरले समान १३–१३ रन बनाए । बलिङमा सन् २००९ को टिमका करुणा भण्डारीले ४, सोनु खड्काले २ तथा रितु कनौजिया र सीता शाहीले १–१ विकेट लिए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज सुरु भएको हो । दुई दिनसम्म चल्ने सिरिजमा मुलुकभरबाट पूर्व क्रिकेटर महिला खेलाडीहरु भैरहवा आएका छन् । उक्त सिरिजमा लेदर बलको प्रयोग गरिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्