गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि पहल गरिरहेका छौं , मुख्यमन्त्री आचार्य

गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि पहल गरिरहेका छौं , मुख्यमन्त्री आचार्य

भैरहवा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ छ ।

लुम्बिनीखबर सञ्चार गृह प्रा।लि।ले आइतबार रुपन्देहीको भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउन सफल भएको जानकारी दिए । ‘मेरो नेतृत्वमा सरकार बनेलगत्तै संघीय सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुग्यौं । त्यसपछि हवाई उडान सुरु भयो,’ उनले भने–‘अहिले फेरि उडान प्रभावित हुने अवस्थामा पुगेको देखिएको छ । यसमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

निजी क्षेत्रबाट थालिएको संघर्षका कार्यक्रमप्रति पनि प्रदेश सरकारको चासो रहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । आफू पछिल्लो समय संघीय राजधानी काठमाडौं पुगेका बेला विमानस्थल सञ्चालन र हवाई उडान नियमित गराउने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च अधिकारीहरूसँग भेटघाट भएको उनले जानकारी दिए । ‘व्यवसायी साथीहरूको पक्षमा प्रदेश सरकार दृढतापूर्वक उभिन्छ । तपाईंहरूको साथमा प्रदेश सरकार छ । यो विमानस्थल नियमित सञ्चालन गर्न प्रदेश सरकार अविचलित भएर अघि बढ्छ, ’मुख्यमन्त्री आचार्यले भने ।

त्यस्तै मुख्यमन्त्री आचार्यले मिडिया क्षेत्र जिम्मेवार भएर समाज सुधारको क्षेत्रमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सञ्चार क्षेत्रको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण भएकाले जिम्मेवारपूर्ण रूपमा भूमिका बढाउन आवश्यक रहेको उनको भनाइ थियो । सञ्चार माध्यमहरूले वास्तविक विषय जनसमक्ष पुर्याउने महत्वपूर्ण भूमिका खेलेकोप्रति आभार प्रकट गर्दै उनले पछिल्लो समय सञ्चारको नाममा विकृति भित्रिन थालेको, भ्रमपूर्ण समाचारको खेती मौलाउन थालेको र अराजकतालाई बल पुग्ने गरी सूचनाको चलखेल भइरहेकोप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

लुम्बिनीखबर सञ्चार गृह प्रा।लि।का प्रबन्ध निर्देशक गोविन्द प्रसाद गिरीले सञ्चारको माध्यमबाट प्रदेश र राष्ट्रको प्रगति तथा सहकार्यलाई अग्रसर गराउन निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
‘हाम्रो उद्देश्य केवल चियापान र शुभकामना आदानप्रदानमा मात्र सीमित नभइ यो अवसरलाई आपसी सम्बन्ध प्रगाढ बनाउने, सम्वादको माध्यममार्फत सहकार्यको वातावरण निर्माण गर्ने र प्रदेश तथा राष्ट्रको समग्र समृद्धिमा सञ्चार क्षेत्रको भूमिकालाई स्पष्ट पार्ने प्रयत्न पनि हो, ’उनले भने ।

लुम्बिनीखबर सञ्चार गृह प्रा।लि।का अध्यक्ष श्री रायमाझीको अध्यक्षता, प्रबन्ध निर्देशक गोविन्द प्रसाद गिरीको स्वागत तथा प्रमुख कार्यकारी अधिकृत एवं समता टेलिभिजनका सम्पादक नरेश के।सी।को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक एवं मिडिया प्रा।लि।का सञ्चालक समिति सदस्य मनोज क्षेत्रीले बताए ।

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij