बुटवल-रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदको रिक्त स्थान पूर्ति गर्न आउँदो कार्तिक १७ गते हुने उपनिर्वाचनको तयारी तीव्र हुँदै गएको छ। उम्मेदवार बन्ने आकांक्षीहरूको होडबीच बुटवल–१९ निवासी लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै चुनावी मैदानमा प्रवेश गरेका छन्।
सामाजिक अभियन्ता गैरेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई भ्रष्टाचारविरोधी, निस्वार्थ सेवाभावले प्रेरित स्वतन्त्र नागरिकका रूपमा प्रस्तुत गरे। उनले पार्टीगत संरचना र नेताको भाषणभन्दा माथि उठेर जनताको सेवा गर्ने संकल्पसहित उम्मेदवारी घोषणा गरेको जनाए।
“म कुनै राजनीतिक दलको साधारण सदस्य पनि भएको छैन,” गैरेले भने, “दलको कार्यकर्ता होइन, जनताको सेवक बन्ने सपना लिएर मैदानमा आएको हुँ।”
उनका अनुसार हालको राजनीतिक अवस्था पार्टीप्रतिको विश्वास संकटको चरणमा छ। राजनीतिक दलहरू आ९आफ्ना स्वार्थमा अल्झिएको, जनताको मुद्दा ओझेलमा परेको, भ्रष्टाचार मौलाउँदै गएको र चुनावमा भाषणको खेती हुने तर काम नदेखिने परिपाटी अन्त्य गर्न स्वतन्त्र विकल्प आवश्यक भएको गैरेको ठम्याइ छ।
गैरेले गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रुपन्देही ३ मा तिनाउ नदीमा स्थानीय तहहरुले लगाउने ठेक्कामा हरेक वर्ष करोडौं रुपैयाँको ढुंगा गिटी बालुवाको चोरी निकासीलाई नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली र चोरी निकासी नियन्त्रण, मल, बिउ र सिँचाइको समस्या समाधान, पर्यटन र सुशासन आफ्नो प्राथमिक एजेण्डा रहेको बताए ।
रुपन्देहीको थुप्रै पुरातात्त्विक र धार्मिक स्थलहरू ओझेलमा परेको उल्लेख गर्दै उनले “तराई टुरिजम” को अवधारणा अघि सारे। “पर्यटनमार्फत रोजगार सिर्जना गर्दै धार्मिक आस्थाको संरक्षण पनि गरिनेछ,” उनले बताए।
गैरेले क्षेत्रका मतदाताहरूमा चेतनाको स्तर वृद्धि भएको भन्दै भने, “अब भाषण होइन, काम हेरेर मत दिने सोच बनेको छ। मतदाताले नेताको अनुहार होइन, कामको इतिहास हेरेर निर्णय गर्नुपर्छ।” उनले युवाहरूमा राजनीतिप्रतिको वितृष्णा हटाएर विकल्प खोज्न प्रेरणा दिने उदेश्यले पनि स्वतन्त्र बाटो रोजेको बताए।
गैरेले भने, “म जनताको बीचबाट उठेको मान्छे हुँ, मसँग प्रचार होइन, सिधा संवादको रणनीति छ। पर्चा होइन, कामको इतिहास देखाएर भोट माग्ने हो।”
उनले निर्वाचन आयोगका सबै प्रक्रिया पालना गर्ने र आगामी दिनमा विभिन्न स्थानीय तहमा घरदैलो कार्यक्रम, जनसंवाद र बहसका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य पदको रिक्त क्षेत्रको उपनिर्वाचन कार्तिक १७ गते हुने जानकारी गराएपछि रुपन्देही–३ मा चुनावी चहलपहल सुरु भएको हो। यो क्षेत्रमा २०७९ सालको आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहरा विजयी भएका थिए। कोरोना पछिको स्वास्थ्य समस्याले २०८१ चैत १९ गते बोहराको निधन भएपछि यो क्षेत्र खाली रहँदै आएको हो।
रुपन्देही–३ निर्वाचन क्षेत्रमा १ लाख ३९ हजार ७६४ मतदाता छन्। भौगोलिक रूपमा यो क्षेत्र नेपाल–भारत सीमावर्ती बेलहिया नाकादेखि बुटवल उपमहानगरपालिकाका वडा नं. १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाका वडा नं. ७ र ८, ओमसतिया गाउँपालिका–२, सियारी गाउँपालिकाका वडा नं. १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नं. १३ र १४ सम्म फैलिएको छ।
प्रकाशित मिति : आइतबार, असार २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्