बुटवल, बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट पारित भएको छ। बुधबार नगर सभाको १७ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो।
बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ। सभामा विधायन समिति, न्यायिक समिति, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण समिति, लेखा समिति, जाँचपास तथा फरफारक समिति र सुशासन समिति प्रतिवेदन पारित भएको छ।
सभाको समापनका अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई समानता स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर बनाउनका लागि सबैको सहकार्य जरुरी रहेको बताए। उनले नगरलाई सफा स्वच्छ र सुन्दर नगर बनाउने उदेश्यका साथ काम गरिरहेको बताए। उनले आगामी वर्षलाई शिक्षा, स्वास्थ्यका साथसाथै पर्यटन र कृषिलाई प्राथमिकताका साथ कार्यक्रम तय गरिएको बताए। उनले बुटवललाई भौतिक पूर्वाधार विकासमा मात्रै नभई मानव संसाधनको विकासमा समेत अग्रणी शहर बनाउने गरी योजनाहरु ल्याएको बताए।
आगामी आर्थिक वर्षमा करीब १० हजार भूमिहिन र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने गरी बुटवल उपमहानगरपालिकाले नापजाँचमा लगानी गरेको र सोही अनुसारको जनशक्ति परिचालन गरेको उनले बताए। सभामा बोल्दै उनले बुटवलबाट प्रदेशको राजधानी सार्ने क्रममा बुटवललाई प्रदेशकै आर्थिक केन्द्र बनाउने भनिएपनि कुनै कार्यक्रम नआएकाले प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउने र बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि अगुवाई गर्ने बताए।
सभामा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई सबल र सम्पन्न सहर बनाउनका लागि सबै क्षेत्रको साथ आवश्यक रहेको बताइन्। उनले हालसम्म भएका उपलब्धिलाई अझ परिस्कृत गर्दै अगाडि बढ्ने बताइन्। बुटवल उपमहानगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्य अगाडि सारेको थियो।
प्रमुख पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई पर्यटकीय विश्राम स्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दुधर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति लिएको बताएका थिए। बुटवलका गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगारकाकार्यक्रम अन्तर्गत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र ९कोसेली घर० स्थापनामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरूको व्यवस्थापनका लागि गाईराष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूसँग समन्वय गरिने पनि उल्लेख छ। ‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य र्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरू सञ्चालन गरिने नीतिमा उल्लेख छ । पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरू निर्माण गरिनेछ ।
असार १० गते बजेट पेश गर्दै उपप्रमुख सावित्रादेवी अर्यालले कुल बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने बताइन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा ९५ करोड आन्तरिक आय हुने अनुमान उनले पेस गरेकी थिइन्। बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि एक करोड, पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउन १ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधारमा एक करोड, छात्राहरुलाई निस्शुल्क अध्ययनका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्न ७० लाख बजेट विनियोजन भएको छ ।
यस्तै ज्येष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने कार्यक्रमका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट विनियोजन भएको छ ।
झुम्सा खानेपानी बुटवलमा ल्याउन पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि दुई करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि तीन करोड, उद्यमी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न तीन करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि पाँच करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन् ।
किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिन एक करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिन ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ ।
यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि एक करोड ५० लाख, पुनस् नापी गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ ।
प्रकाशित मिति : बिहिबार, असार २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्