एमाले को सचिवालय बैठक आज बस्दै

एमाले को सचिवालय बैठक आज बस्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ। भोलिदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनको अन्तिम तयारी स्वरुप बैठक बोलाइएको हो। बैठक अपरान्ह तीन बजे पार्टी मुख्यालय च्यासलमा सुरु हुनेछ।

महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहकाबिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुने पार्टीले जनाएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनलाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ। स्थायी कमिटीमा कम्तीमा एक महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ।

तर महाधिवेशन नजिकिँदै गर्दा दुई ध्रुवमा विभाजित नेताहरूले फरक–फरक रणनीति बनाइरहेका छन्। महाधिवेशनमा मुख्य तीन वटा प्रतिवेदन पेस हुने भए पनि विधान संशोधनमा एमालेमा विवाद छ।

महाधिवेशनमा पेस गर्ने यी तीन प्रतिवेदन मध्ये उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्ताव सबैभन्दा पेचिलो बनेको हो। प्रतिवेदनमा दुई किसिमका सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेर हद नरहने, जिल्ला कमिटीलाई कार्यकारीरूपमा कायम गर्ने, २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्यूरो र कम्तिमा एक महिलासहित १५ जना केन्द्रीय पदाधिकारी रहने लगायतका प्रस्ताव छ।

यी प्रस्तावमा पार्टी भित्र स्पष्टरूपमा फरक मत देखिइसकेको छ। ७० वर्षे उमेर हद नरहने प्रस्ताव भने सबैभन्दा बढी जटिल बनेको छ। पार्टीमा विधान बमोजिम अध्यक्षलगायतका पदाधिकारी चल्नु पर्नेमा व्यक्ति हेरेर विधान चलाउन खोजिएको आरोप छ।

अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रमा राखेर विधि पद्दतीलाई लत्याउन खोजेको आरोप अर्को पक्षको छ। अझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगरेको विषय आगोमा घ्यु थपेको जस्तो भएको छ।

पार्टीमा ओली रणनीति प्रति फरक मत राख्नेहरूले विधान संशोधनमा फरक मत राख्ने तयारी गरेका छन्। ७० वर्षे उमेर हद कायम गर्ने र पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन दिनुपर्ने मत यो समूहको छ। उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी समिति सदस्य कर्णबहादुर थापाले फरक मत दर्ता गराउन लागेका हुन्।

यद्यपि आधिकारिक रूपमै यसलाई महाधिवेशनमा लैजाने कि नलैजाने भन्ने निर्णय आज बस्ने पदाधिकारी बैठकले लगाउने छ। तर सबै विषय महाधिवेशनमा प्रवेश नै गर्न नदिने रणनीतिमा अध्यक्ष ओली पक्ष छ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप राखिएको छ।

निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई उभ्याउन योजना अध्यक्षको प्रतिवेदनमा राखिएको छ।

प्रकाशित मिति : बिहिबार, भाद्र १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij