बुटवल – नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन अहिलेको परिस्थितिमा नहुने दाबी गरेका छन्। सरकारको गतिविधि चुनाव गराउने दिशामा नभएको उल्लेख गर्दै उनले एमालेले ‘नहुने चुनाव’ को पैरवी नगर्ने स्पष्ट अडान व्यक्त गरे।
प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा गरेको भेटघाट कार्यक्रममा महासचिव पोखरेलले एमाले चुनावबाट नभाग्ने तर वर्तमान परिस्थितिमा चुनाव सम्भव नदेखिने बताए। उनका अनुसार अहिलेको चुनौतीपूर्ण अवस्थामा मुलुकलाई निकास दिन प्रतिनिधिसभा पुनःस्थापना सर्वोत्तम विकल्प हो।
‘केही राजनीतिक दलले जेनजी रिसाउलान् भनेर चुनाव भनेर हल्ला गरेका छन्,’ पोखरेलले भने, ‘यो सरकार चुनावका लागि बनेको छैन, निर्वाचन गराउँदा पनि गराउँदैन। २०५९ जस्तै वैधता नपाउने चुनावको कुनै अर्थ हुँदैन।’
उनले सुरक्षा परिस्थितिलाई समेत चुनाव असम्भव हुने प्रमुख कारणका रूपमा प्रस्तुत गरे। प्रहरीसँगको हतियार खोसिएको, कैदीबन्दी र प्रहरीका लुटिएका हतियार समाजमा फैलिएको अवस्थाले प्रहरी र नागरिक दुवैको मनोबल कमजोर बनाएको बताए। ‘प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कँदासम्म चुनावको सम्भावना देखिँदैन,’ उनले टिप्पणी गरे।
महासचिव पोखरेलका अनुसार राजनीतिक दलसँग संवाद र सहमति निर्माण गर्न सरकार स्वयं इच्छुक देखिँदैन, जसबाट निर्वाचन गराउने मनसाय नै नरहेको स्पष्ट हुन्छ। उनका अनुसार संविधानअनुसार देशलाई सही मार्गमा फर्काउन प्रतिनिधिसभा पुनःस्थापना, आवश्यक संविधान संशोधन, र युवाका माग सम्बोधन अनिवार्य छ। इतिहासमै सडक र अदालत दुवैबाट संसद् पुनःस्थापना सम्भव भएको उदाहरण उद्धृत गर्दै उनले अहिले पनि त्यही मार्ग अपनाउन सकिने बताए।
प्रकाशित मिति : सोमबार, मंसिर १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्