JanataToday.com

Advertisment

SKIP THIS

सैनामैना वडा लिग सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ को विजयी सुरुवात

सैनामैना वडा लिग सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ को विजयी सुरुवात

 

रुपन्देहीको सैनामैनामा नगरस्तरीय सैनामैना वडा लिग सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

वडा नम्बर ३ र वडा नम्बर ४ बिचको खेलको पहिलो हाफको २७ औँ मिनेटमा वडा नम्बर ३ का जर्सी नम्बर ८ का खेलाडी रेशम पुन ले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १८औँ मिनेटमा जर्सी नम्बर १० का अरुण बहादुर घर्ती पुन ले दोस्रो गोल थपे। त्यसपछि रमेश पुनले तेस्रो गोल गरे भने दोस्रो हाफको ३२औँ मिनेटमा जर्सी नम्बर ९ का विकल पुन ले गोल थप्दै टोलीलाई ४–० को सहज जित दिलाए ।

खेलको क्रममा पहिलो हाफमै वडा नम्बर ३ का गोलकिपर नरेन्द्र राना तथा वडा नम्बर ६ का रेवन्त बोम्रेलले पहेँलो कार्ड पाएका थिए। उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ३ का विकल पुन ‘म्यान अफ दि म्याच’ घोषित भएको खेल संयोजक कशिश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका खेलकुद तथा युवा मन्त्री सन्तोष कुमार पाण्डेले नेपाललाई आर्थिक समृद्धितर्फ लैजाने मुख्य आधार खेलकुद र पर्यटन भएको बताउनुभएको छ। खेल र पर्यटनकै माध्यमबाट नेपाललाई विश्वस्तरमा चिनाउन सकिने उहाँको भनाइ छ।

सैनामैनामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भन्नुभयो, “आज धेरै खेलाडीहरूले आफ्नै लगानी र व्यक्तिगत प्रयासमा विभिन्न विधाका खेलहरू मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउन सफल हुनुभएको छ। यो गौरवको कुरा हो।” उहाँले खेल क्षेत्रको प्रवर्द्धनका लागि पूर्वाधार विकासमा प्रदेश सरकार सकारात्मक रहेको समेत उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले सैनामैनालाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाभित्र खेलकुदको विकासका लागि स्पष्ट योजनाहरू अगाडि सारिएको जानकारी दिनुभयो।

“खेलकुदका लागि हरेक वडामा खेल मैदान निर्माण गर्ने कामहरू अगाडि बढिरहेका छन्,” नगर प्रमुख शर्माले भन्नुभयो- सैनामैनामा रहेको फुटबल रंगशालालाई अझ व्यवस्थित र आधुनिक बनाउनु अहिलेको आवश्यकता हो, र फुटबलसँगै सैनामैनाको क्रिकेट रंगशालालाई पनि व्यवस्थित गरी खेलाडीहरूलाई प्रोत्साहित गरिने छ।”

सैनामैना नगर खेलकुद समिति संयोजक खिम श्रेष्ठले देशमा ए-डिभिजन र जिल्ला लिगहरू समेत हुन नसकिरहेको अवस्थामा सैनामैनाको मुर्गिया फुटबल क्लबले वडा लिग सञ्चालन गरेर नगरलाई खेलमय बनाएको भन्दै कार्यक्रममा क्लबको प्रशंसा गर्नुभयो ।

उहाँले गाउँ र टोलमा रहेका नवप्रतिभावान खेलाडी भाइहरूको क्षमता पहिचान र विकास गर्नु नै अहिलेको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रविण भारी ले प्रतियोगितामार्फत उदयमान खेलाडीको पहिचान गर्दै आगामी दिनमा उनीहरूलाई थप अवसर र तालिम प्रदान गर्ने उद्देश्य रहेको स्पष्ट पार्नुभयो।

सैनामैना नगरपालिका–४ स्थित मुर्गिया फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको लिगको दोस्रो दिन भोलि शुक्रबार पहिलो खेल दिउँसो १२ बजे वडा नम्बर ४ र वडा नम्बर ८ बिच र दोस्रो खेल दिउँसो २ बजे वडा नम्बर १० र वडा नम्बर ४ बिच खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु १ लाख र दोस्रो हुने टोलीलाई नगद रु ५० हजार, साथै सिल मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको सह–आयोजक सैनामैना नगर खेलकुद समिति रहेको छ भने सैनामैना नगरपालिका संरक्षक को भूमिकामा रहेको छ।

माघ १५ गतेबाट सुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ। सैनामैना नगरपालिकाका ११ वटै वडाका टोलीलाई तीन समूहमा विभाजन गरी लिग प्रणालीमार्फत प्रतियोगिता सञ्चालन गरिएको क्लबका सचिव राम कृपाल यादवले जानकारी दिनुभयो।

क्लबले निरन्तर फुटबल खेल र खेलाडीलाई अवसर दिँदै आएको छ भने यस क्षेत्रका १०७ जना युवा खेलाडीलाई निशुल्क प्रशिक्षण प्रदान गरेको खेल व्यवस्थापक राकेश गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij