सुदूरपश्चिममा कांग्रेसको भेला आज, सभापति थापाले उद्घाटन गर्ने

सुदूरपश्चिममा कांग्रेसको भेला आज, सभापति थापाले उद्घाटन गर्ने

कैलाली ,  नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गर्दैछ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलाका लागि केहीबेरमा सभापति गगनकुमार थापा धनगढी पुग्दै छन् ।

भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे धनगढी पुगिसकेका छन।

विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट वर्तमान सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्ने तयारी गरेको हो ।

हिजो पत्रकार सम्मेलनमार्फत् सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेशस्तरीय प्रशिक्षण भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका थिए ।

‘प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल गर्ने कार्यसूची छ,’ सहमहामन्त्री स्नेहीले भने, ‘पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, सभापति गगनकुमार थापालगायतले भेलालाई सम्बोधन गर्नुहुनेछ ।’

भेलाका लागि कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रदेश सभापति र नौवटै जिल्लाका सभापतिलाई सहभागी हुन पत्र पठाएका थिए । पत्रमा सुदूरपश्चिम प्रदेश समितिका तथा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरू, प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेश सभामा रहेका सांसदहरू, सबै जिल्ला सभापति, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, पालिकामा विजयी भएका पार्टी सभापतिहरू, कैलाली जिल्लाका सबै पदाधिकारी, प्रतिनिधि सभा, क्षेत्रीय, प्रदेश तथा पालिका सभापतिहरूलाई आमन्त्रण गरिएको छ ।

प्रत्येक सहभागीबाट २ हजार ५ सय रुपैयाँ दर्ता शुल्कसमेत निर्धारण गरिएको छ । पत्रमा कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्ने र स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गर्ने बताइएको छ ।

कैलाली जिल्लाको तर्फबाट कार्यवाहक सभापति खेमराज डगौरा थारुले सहभागिताका लागि सबै निर्वाचन क्षेत्रका सभापतिहरूलाई पत्राचारसमेत गरिसकेका छन् ।

भेलाको उद्घाटन सभापति थापाले गर्ने कार्यक्रम छ । कार्यक्रममा सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ सुन्ने कार्यक्रम रहनेछ । त्यसपछि केन्द्रीय नेताहरू बोल्नेछन् ।

२७ गते स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य तथा सरकारका प्रतिनिधि, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरूको प्रशिक्षण राखिएको छ । उनीहरूलाई उपसभापति विश्वप्रकाश शर्माले प्रशिक्षण दिनेछन् ।

भेलाको समन्वयका लागि केन्द्रबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई खटाइएको छ भने थप सहजीकरणको जिम्मेवारी सहमहामन्त्री उदयशमशेर राणालाई दिइएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij